काठमाडौँ, ३ पुस २०८२ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। भृकुटीमण्डपमा सम्पन्न मतदानपछि मतगणनाका सबै तयारी पूरा भइसकेको एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन अधिकृत हेमलता जिसीका अनुसार अब केही बेरमै मतगणना सुरु हुने छ। उनले गणना सुरु भएको करिब तीन घण्टाभित्र नतिजा सार्वजनिक गर्न सकिने अनुमान गरिएको जानकारी दिइन्।
महाधिवेशनमा सहभागी २२६३ प्रतिनिधिमध्ये २२२७ जनाले मतदान गरेका छन् भने ३६ जना अनुपस्थित रहेका छन्। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो। मतगणनाका लागि ती सबै मेसिनबाट छुट्टाछुट्टै मुचुल्का उठाइएको निर्वाचन आयोगले जनाएको छ।
नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्ना प्यानलसहित प्रतिस्पर्धामा छन्। साथै प्यानल बाहिरबाट पनि केही नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
