काठमाडौ,३ पुस।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको छ ।
सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराधसम्बन्धी अभियोगमा थुनामा रहेका लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीलाई धरौटी रकम बुझाएर थुनाबाहिर बसेर मुद्दा लड्न पाउने आदेश अदालतले दिएको हो ।
लामिछाने र जोशीले बिगो बराबरको रकम धरौटी राखी थुनाबाहिर बस्न पाउँ भनी उच्च अदालतमा निवेदन दिएका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालतको आदेश उल्ट्याउँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
आजको सुनुवाइमा रवि लामिछानेका तर्फबाट अधिवक्ताहरू डा. नारायणदत्त कँडेल, दीपेन्द्र झा, महेन्द्र पाण्डे र बाबुराम पाण्डेले बहस गरेका थिए । छविलाल जोशीका तर्फबाट अधिवक्ता शिव गौडेल र रोचक जोशीले बहस गरेका थिए ।
त्यस्तै, सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ तथा जाहेरवालाका तर्फबाट अधिवक्ता सञ्जिव घिमिरेले बहस प्रस्तुत गरेका थिए ।
यसअघि जिल्ला अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि लामिछाने उच्च अदालत पुगेका थिए ।
