काठमाडौ , १६ पुस।
ल्हासा स्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिचाङ स्वायत्त प्रदेशको अध्यागमन विभागका महानिर्देशक वाङ सि होङबीच भेटवार्ता भएको छ। मंगलबार महावाणिज्यदूतावासको कार्यालयमा भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको हो।
भेटका क्रममा महावाणिज्यदूत निरौलाले महानिर्देशक वाङलाई स्वागत गर्दै सिचाङ अध्यागमन विभागले महावाणिज्यदूतावासलाई हालसम्म प्रदान गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। साथै, गत असारमा ल्हेन्दे खोलामा आएको बाढीका कारण क्षतिग्रस्त भोटेकोशी नदीको मितेरी पुल पुनर्निर्माण सम्पन्न गरी यही पुस १७ गतेदेखि रसुवा नाकाबाट आयात–निर्यात पुनः सुरु गर्न लागिएकोमा चीन सरकार र सिचाङ अध्यागमन विभागलाई नेपाल सरकारका तर्फबाट आभार व्यक्त गरे।
यसले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास उनले व्यक्त गरे।
त्यस अवसरमा महानिर्देशक वाङले महावाणिज्यदूतावासको कार्यको प्रशंसा गर्दै नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धले दुई देशबीचको सम्बन्ध अझ बलियो बनाएको उल्लेख गरे।
उनले विगतमा महावाणिज्यदूतावाससँग मिलेर थुप्रै काम गरिएको स्मरण गर्दै नेपाललाई सहयोग गर्न आफू सधैं तयार रहेको बताए।
भेटमा दुई देशबीचका सबै सीमा नाकालाई संयुक्त रूपमा व्यवस्थित गर्ने, नाकाबाट हुने आयात–निर्यात र मानिसको आवतजावतलाई सहज बनाउने, सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने तथा दुवै देशका अधिकारीबीच सम्बन्ध सुदृढ गर्दै भ्रमण टोलीको आदान–प्रदान गर्ने विषयमा समेत समझदारी भएको जनाइएको छ।
