काठमाडौं, २६ पुस । एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन पुगेका इश्वर पोखरेल केन्द्रीय सदस्यहरुको लाइनमा बसेका थिए । सधै अध्यक्ष केपी ओलीको दाहिने साइडमा बस्ने पोखरेल १० वर्षपछि चुलोबाट मझेरीमा झरेका थिए । उनी असहज मान्दै केन्द्रीय सदस्यहरुसँग बसेका थिए । त्यसक्रममा ओलीले उनलाई अनदेखा गरेको एक केन्द्रीय सदस्यले बताए । नेकपा एमालेका अध्यक्ष ओलीले आफ्नो पार्टीको हस्तक्षेपकारी भूमिका र लोकतन्त्रका पक्षधर अन्य दल र नागरिक समाजको प्रयासमा प्रतिगमनको थप शृखंला रोक्न सफल भएको दाबी गरिरहँदा पोखरेल भने तल बसेर सुनिरहेका थिए। पोखरेल केन्द्रीय सदस्यको लहरमा बसेका बेला केही सदस्यहरुले ओलीलाई चुलो पोखरेललाई मझेरी भन्दै हासो मजा गरेका थिए।
शनिबार ललितपुरमा आयोजित पार्टीको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले स्थापित राजनीतिक दलहरूलाई निषेध गर्ने अलोकतान्त्रिक व्यवहारबाट सरकार पछि हट्न बाध्य भएको जिकिर पनि गरेपनि पोखरेलले ओलीको त्यो भनाईलाई खासै ध्यान दिएनन ।
अहिले सरकार दलहरूसँग संवाद गर्ने ठाउँमा आइपुगेको भन्दै उनले स्थापित दलहरूलाई निर्वाचनमा भागै लिन नदिने, घरबाट बाहिर निस्कनै नदिने पात्रहरूको ‘माकस्फुइँ’लाई विफल तुल्याइएको दाबी गर्दा पोखरेल मुसुक्क मुस्कुराएका थिए । ‘हाम्रो पार्टीको सचेतन, सक्रिय र हस्तक्षेपकारी भूमिका एवं लोकतन्त्रका पक्षधर अन्य दल र नागरिक समाजको समेत प्रयासमा हामीले प्रतिगमनको थप शृङ्खलालाई रोक्न सफल भएका छौँ। स्थापित राजनीतिक दलहरूलाई अस्वीकार र निषेध गर्ने अलोकतान्त्रिक व्यवहारबाट सरकार पछि हट्न बाध्य भएको छ। दलहरूसँग संवाद गर्ने ठाउँमा आइपुगेको छ’, उनले भने, ‘स्थापित दलहरूलाई निर्वाचनमा भागै लिन नदिने, घरबाट बाहिर निस्कनै नदिने भन्नेजस्ता विभिन्न शंकास्पद पात्रहरूको माकफुइँलाई विफल तुल्याइएको छ।’ ओलीको भाषण पछि पोखरेलले निकै असहज मानेका थिए ।
