काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको महाधिवेशन विवादमा राष्ट्रपति भवन शीतल निवासलाई तानिएको छ । पार्टीमा नियमित र विशेष महाधिवेशन विवाद उत्कर्षमा पुग्दा राष्ट्रपति रामचन्द्र पौडेल कांग्रेसको विभाजन रोक्न शितलनिवासबाट सक्रिय देखिएका छन् । विगतमा विद्यादेवी भण्डारीलाई लाग्दै आएको पार्टीगत राजनीतिको आरोप अहिले राष्ट्रपति पौडेलले भोगिरहेका छन् । उनी शितल निवासबाट कांग्रेस मिलाउन लागेपछि यस्तो आरोप लागेको हो ।
कांग्रेसमा लामो राजनीतिक पृष्ठभूमि भएका राष्ट्रपति पौडेलले पार्टीको महाधिवेशन विवादमा विशेष महाधिवेशनप्रति झुकाव राखेको शीतल निवास पुगेका नेताहरु बताउँछन्। गत असोजमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकल्न हुँदा नै राष्ट्रपति पौडेलले शीतल निवासबाट चासोपूर्वक समन्वय गरिरहेका थिए ।
असोजको तेस्रो साता शीतल निवास पुगेका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई राष्ट्रपति पौडेलले विशेष महाधिवेशनको वातावरण बनाउन सुझाएका थिए। नेता कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्न कोइरालालाई राष्ट्रपति पौडेलको निर्देशनात्मक सुझाव थियो।
तिवारीले भने, ‘राष्ट्रपतिले विशेष महाधिवेशनको पक्षमा जोड गरेपछि सवाल–जवाफ नै भएको थियो। डाक्टरसाब र दिपक खड्काले नियमित महाधिवेशन हुनुपर्छ भन्दा राष्ट्रपतिले विशेष महाधिवेशनको माग राख्नेहरूको कुरा नसुन्ने भन्ने हुन्छ? भन्नुभएको थियो।’
त्यसपछि मंसिर ८ मा विशेष महाधिवेशन पक्षधर नेताहरूलाई राष्ट्रपति पौडेलले शीतल निवास बोलाएका थिए। कांग्रेसमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान चलाएका नेताहरू गुरुराज घिमिरे, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन लगायतसँग पौडेलले छलफल गरेका थिए। महामन्त्रीद्वय थापा र शर्माका साथै नेताहरु शेखर कोइराल, मिनेन्द्र रिजाल लगायतसँग पनि राष्ट्रपति पौडेलले महाधिवेशनको विवादमा समाधान खोज्न सुझाएका थिए।
शुक्रबार दिउँसो राष्ट्रपति पौडेलले कांग्रेसभित्रको विवादबारे छलफलका लागि महामन्त्री थापा र नेता रमेश लेखकलाई शीतलनिवास बोलाए। महामन्त्री थापा निकट स्रोतका अनुसार दुई जना (गगन थापा र रमेश लेखक)ले चाहँदा विवाद समाधान हुने राष्ट्रपति पौडेलको विश्वास थियो।
पार्टीभित्रको विवाद समाधानका लागि नेता लेखकले दुई वटा प्रस्ताव अगाडि सारेका छन्। स्रोतका अनुसार राष्ट्रपतिसँगको छलफलमा सभापति देउवासँग सहमति गरेर विशेष महाधिवेशनलाई चुनावी तयारी भेलामा रुपान्तरण गर्नुपर्ने लेखकको पहिलो प्रस्ताव थियो।
महामन्त्री थापाले विशेष महाधिवेशनको नाममा महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेको भन्दै चुनावी भेलामा रुपान्तरण गर्न नसकिने जवाफ दिएका थिए। त्यसपछि लेखकले विशेष महाधिवेशनलाई नीति वा संकल्प सम्मेलनमा परिणत गर्ने गरी सहमति खोज्न सकिने दोस्रो प्रस्ताव राखेका थिए।
महामन्त्री थापाले उक्त प्रस्तावमा पनि खुलेर संवाद गर्न रुचाएका छैनन्। लेखकका दुबै प्रस्तावबारे अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग छलफल गरेर मात्र जवाफ दिने महामन्त्री थापाको भनाइ छ। कांग्रेस संस्थापन पक्षका एक नेताले पार्टीभित्रको विवादमा राष्ट्रपति पौडेलले अस्वभाविक चासो देखाएको बताए। ‘राष्ट्रपति पौडेलले ‘विशेष महाधिवेशन माग गरेका साथीहरूका कुरा सुनेर सम्बोधन गर्नुहोस् है’ भन्दै सभापति देउवालाई फोन गरिराख्नु भएको छ। केही नेताहरूलाई शीतल निवास बोलाउनु भएको पनि सुनियो,’ उनले भने।
शुक्रबार बिहान प्राध्यापक संघको टोलीसहित कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर पनि शीतल निवास पुगेका थिए। महरले छुट्टै भेट्दा राष्ट्रपति पौडेलले पार्टीभित्रको विवादबारे गहिरो चासो राखेका थिए। शनिबार दिउँसो पनि राष्ट्रपति पौडेलले कांग्रेसका केही नेताहरूसँग भेटवार्ता गरेको बुझिएको छ।
