काठमाडौ,५ माघ
पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रदीप यादव नेकपा एमालेमा प्रवेश गरेका छन्। उनी गएराति औपचारिक रूपमा एमालेमा आबद्ध भएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई खादा लगाइदिएर पार्टीमा स्वागत गरेका थिए। एमालेका युवा नेता रविन्द्र लम्सालले यसबारे जानकारी दिएका छन्।
यसअघि अशोक राई नेतृत्वको जसपा परित्याग गरी उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गरेका यादव पछिल्लो समय पार्टीको समन्वय समिति सदस्य थिए। उनी आगामी प्रतिनिधिसभा निर्वाचनमा पुनः पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीमा रहेका छन्।
यस्तै, जसपाकै अर्का नेता इश्तियाक राई पनि नेकपा एमालेबाट उम्मेदवार बनेका छन्। पूर्वमन्त्रीसमेत रहेका प्रभावशाली नेता राईलाई एमालेले बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको छ।
त्यसैगरी वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह नेकपा एमालेमा प्रवेश गरेका छन्।
गएराति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा गएर उनले एमाले प्रवेश गरेका हुन्।
