काठमाडौं, ५ मााघ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।
राजीनामापत्रमा खरेलले सक्रिय राजनीतिमा प्रवेश गर्ने उद्देश्यले पद त्यागेको उल्लेख गरेका छन्। वर्तमान सरकारको स्वतन्त्र पहिचानमा असर नपरोस् भन्ने हेतुले दलीय राजनीतिको मैदानमा उत्रिनुअघि नै राजीनामा दिने निर्णय गरेको उनले बताएका छन्।
खरेलले भनेका छन्, “वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिमा प्रवेश गर्नुअघि नै मैले पदबाट राजीनामा दिने निर्णय लिएको छु। यो राजीनामा स्वीकार गरिदिन सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष सविनय अनुरोध गर्दछु।”
उनले आगामी दिनमा देश र जनताको हितमा सक्रिय राजनीतिमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “अब मेरो सार्वजनिक जीवन राष्ट्र, नागरिक, लोकतन्त्र, सुशासन र मानव गरिमाको उन्नयनमा समर्पित रहनेछ,” खरेलले बताएका छन्।
आगामी प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राजीनामा दिने उनी कार्की सरकारका तेस्रो मन्त्री हुन्। यसअघि सोही सरकारमा सहभागी बब्लु गुप्ता र कुलमान घिसिङले पनि मन्त्री पदबाट राजीनामा दिइसकेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleयी हुन् रास्वपाले टुंगाएका ३३ क्षेत्रका उम्मेदवार
