काठमाडौ , ९ माघ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरका जनता २१ फागुनमा हुने निर्वाचनको प्रतीक्षामा रहेको बताएका छन्। वर्तमान संकटको समाधान निर्वाचनबाट मात्रै सम्भव हुने उल्लेख गर्दै उनले सिंगो राष्ट्र अहिले चुनावमय बनेको दाबी गरे।
शुक्रबार नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्षसहितका पदाधिकारीहरूलाई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुक अझै पनि संकटमुक्त भइनसकेको बताए।
‘देश अझै संकटमै छ, दुर्घटना टरिसकेको अवस्था छैन,’ उनले २३ र २४ भदौका घटनालाई स्मरण गर्दै भने, ‘यदि देशभर दरो एकता निर्माण गर्न सकिएन भने दुर्घटना रोक्न सकिँदैन।’
अरुको मुख ताकेर बस्ने अवस्था नरहेको उल्लेख गर्दै प्रचण्डले पार्टी र जनतालाई थप एकताबद्ध बनाउनुपर्ने आवश्यकता औंल्याए। जेन–जी आन्दोलनपछिको असहज परिस्थितिमा आफू र माधवकुमार नेपालले दिएको सुझावकै आधारमा मुलुक निर्वाचनतर्फ गएको उनको भनाइ थियो।
उनले लोकतान्त्रिक उपलब्धिहरूको रक्षा र देशलाई संकटबाट बाहिर निकाल्ने प्रमुख माध्यम निर्वाचन भएको उल्लेख गर्दै जनता व्यग्रताका साथ २१ फागुनको प्रतीक्षामा रहेको दोहोर्याए।
