काठमाडौ , १३ माघ ।
नेपाली कांग्रेसले पार्टीलाई सुधार गर्दै एकताबद्ध रूपमा चुनावमा होमिएको दाबी गरेको छ। केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेसले आन्तरिक विवाद समाधान गरी आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने वातावरण बनेको जानकारी दिएको हो।
केन्द्रीय प्रचारप्रसार समितिको आयोजनामा तथा नेपाल प्रेस युनियनको संयोजनमा भएको कार्यक्रममा पार्टी प्रवक्ता देवराज चालिसेले उम्मेदवारी दर्ताकै चरणमा कांग्रेस सुधारिएको सन्देश दिएको बताए। उनका अनुसार टिकट वितरणका क्रममा देखिएका असन्तुष्टि र विद्रोहलाई छलफलमार्फत टुंग्याइएकाले अहिले पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरे।
टिकट नपाएका नेताहरूलाई पनि सम्मानजनक भूमिकामा समेटिएको उल्लेख गर्दै चालिसेले केही कमजोरी भएको स्वीकार गरे। ती कमजोरी आगामी दिनमा दोहोरिन नदिने प्रयास गरिने उनको भनाइ थियो।
कांग्रेसले प्रचारप्रसार संयन्त्रलाई वडा तहसम्म विस्तार गर्दै चुनाव केन्द्रित गतिविधि तीव्र बनाएको पनि जनाएको छ। साथै निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रवक्ताले जानकारी दिए।
यसैबीच कांग्रेसले विभिन्न राजनीतिक कार्यक्रमहरूमा राष्ट्रिय झन्डाको दुरुपयोग बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ। राजनीतिक दलहरूको प्रतिस्पर्धामा राष्ट्रिय झन्डा प्रयोग नगर्न र यसको मर्यादा कायम राख्न सबैलाई सचेत गराइएको चालिसेले बताए।
