काठमाडौ,१४ माघ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा भर्ना भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सेलुलाइटिस संक्रमण भएको पुष्टि भएको छ।
अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएअनुसार चिकित्सकका अनुसार सेलुलाइटिस छालाको भित्री तहसम्म फैलिने ब्याक्टेरियाजन्य संक्रमण हो।
यसका कारण छाला सुन्निने, रातो हुने, दुख्ने तथा तातो महसुस हुने लक्षण देखिन्छन्।
अस्पतालका अनुसार लामिछानेलाई हाल नसाबाट एन्टिबायोटिक दिइँदै उपचार भइरहेको छ। उनी हाडजोर्नी विभागअन्तर्गत भर्ना छन् भने अन्य स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
