काठमडौं, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान भैरहेको छ । बिहानैदेखि मतदाताले उत्साहपूर्वक मतदान गरिरहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न राजनीति दलका शीर्षले मतदान गरेका छन् । प्रधानमन्त्री कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, रास्वपाकै वरिष्ठ नेता बालेन्द्र शाह, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपाकै सहसंयोजक माधव र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायतले मतदान गरेका छन् ।
यसैगरी, एमाले महसचिव शंकर पोखरेल, कांग्रेस नेता शेखर कोइराला, नेता प्रकाशशरण महतले पनि मतदान गरेका छन् । यसैगरी, कांग्रेस सभापति गगन थापाले मैतीदेवीस्थित मतदान केन्द्रमा मतदान गरेका छन् ।
प्रधानमन्त्री कार्कीले टोखास्थित धापासी मतदान केन्द्र, लामिछानेले काठमाडौं–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर, शाहले सिनामंगलस्थित अन्नपूर्ण स्कुलमा र पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिजिभन कार्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । नेकपाका संयोजक दाहालले चितवन क्षेत्र नम्बर ३ बाट, सहसंयोजक नेपालले गौर नगरपालिका–२ बाट मतदान गरेका छन् ।
बिहान ७ बजेबाट शुरू भएको मतदानमा सर्वसाधरणको उपस्थिति पनि राम्रै देखिन्छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले धरान उपमहानगरपालिका–१८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रमा, कांग्रेस उपसभापति विश्व प्रकाश शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा, नेकपाका नेता भीम रावलले अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा रहेको चन्द्रोदय प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।
त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले मुसिकोट नगरपालिका–५ शेरिगाउँ मतदान केन्द्रमा, नेकपाका नेता बर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित बाल उदय माध्यमिक विद्यालय माडीचौरबाट मतदान गरेका छन् ।
प्रहरी केन्द्रीय प्रवक्ता एवं डीआइजी अबि नारायण काफ्लेका अनुसार छिटपुट घटनाबाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको छ ।
