काठमाडौं, २९ फागुन । विशेष महाधिवेशनबाट कांग्रेसलाई एक नम्बरको दल बनाउछु भन्दै सभापति बनेका गगन थापालाई राजिनामाको दबाब परेको छ । सर्लाही क्षेत्र नं ४ बाट पाचौ पटक सांसद बन्ने महत्वांकाक्षा बोकेका सभापति थापाले पराजय भोगेपछि पार्टीभित्रबाटै राजिनामाको दबाब बढेको हो ।
प्रतिनिधिसभा निर्वाचनमा थापा मात्र होइन कांग्रेसकै ‘शर्मनाक’ पराजयसँगै सभापति पदबाट राजिनामा दिनुपर्ने दबाब बढेको छहो । जेन–जी विद्रोहपछि पुरानो नेतृत्वको औचित्य सकिएको निष्कर्षसहित विशेष महाधिवेशनबाट नयाँ नीति र नेतृत्व लिएर चुनावमा होमिदा पनि शर्मानक पराजयको नतिजाका कारण थापामाथि पार्टीभित्रका अधिकांश नेताहरुले नैतिक रुपमा दबाब दिइरहेका छन् । पार्टीका अर्को पक्षीय नेताहरु रामहरि खतिवडा, जितजंग बस्नेत लगायतका नेताहरुले खुला रुपमा राजिनामा मागिरहेका रहेका छन् ।
थापाको नेतृत्वमा बदलियो कांग्रेस, बदल्छौं देश भन्ने विशेष महाधिवेशनको फैसला र सन्देशसहित पार्टी चुनावमा होमिएको तर ०१५ सालपछिकै कमजोर मत दिएर उनको नेतृत्वलाई जनमतले अस्वीकृत गरेको भन्दै पार्टीभित्रै थापाको राजीनामाको आवाज उठ्न थालेको हो ।
निवतर्मान सभापति शेरबहादुर देउवा समूहले उनको राजीनामालाई देशैभर संगठित रुपले उठाउने तयारी गरिरहेको छ । काठमाडौं ४ बाट निर्वाचन क्षेत्र फेरेर सर्लाही ४ बाट उठ्दा पनि आफैं पराजित थापा पार्टीभित्रै नेतृत्वको नैतिक जिम्मेवारीमाथि प्रश्न उठ्दा प्रतिरक्षाका लागि कमजोर धरातलमा उभिएका छन् । राजीनामा नदिँदा नियमिति महाधिवेशनबाट नेतृत्वमा आउने विकल्प झन् कमजोर हुनसक्ने भएका कारण स्वयं थापा राजीनामाको मनस्थिति बनाएर छलफलमा लागेका छन् । त्यसैक्रममा उनले सोमबार उपसभापति विश्वप्रकाश शर्मासँग अलग्गै परामर्श गरेका थिए ।
देउवा समूहका नेताहरुले भने आपसी परामर्श गरेर संगठित रुपमा धारणा राख्ने निष्कर्षमा पुगेका छन् । उपसभापति विश्वप्रकाश शर्मा तथा पार्टीका पदाधिकारीहरू र आफूनिकट बुद्धिजीवीहरूसँग परामर्श थालेर स्वयं थापाले पार्टी हारको नैतिक दायित्व लिनुपर्ने आफ्नो निष्कर्ष सुनाएका थिए । तर, जवाफमा उपसभापति शर्माले राजीनामा आवश्यक नभएको बताएका थिए । छिट्टै केन्द्रीय समिति बैठक राखेर पराजयको समीक्षा गरेपछि मात्र निष्कर्षमा पु्ग्न सकिने भन्दै शर्माले सुझाव दिएका छन् । प्रवक्ता देवराज चालिसेले पनि केन्द्रीय समिति बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र त्यसपछि मात्र एउटा निष्कर्ष पुग्ने बताए ।
‘केन्द्रीय कार्यसमिति बैठक बस्छौं र चुनावको समीक्षा गर्छौं, त्यसपछि मात्र के गर्ने भन्ने कुरा हुन्छ, अहिले सभापति र केन्द्रीय सदस्यहरुले त्यहीँ आ आफ्ना धारणा राखेर छलफल गरेपछि एउटा निर्णयमा पुगिन्छ, अहिले नै यही हो भनेर भन्नसक्ने अवस्था छैन,’ प्रवक्ता चालिसेले भने । थापा निकट नेताहरुले उनलाई राजीनामा नदिन सुझाव दिइरहेका छन् ।
तर, नैतिकता व्यक्तिगत विषय पनि भएकाले उनको राजीनामा आए उपसभापति शर्मालाई कार्यवाहक सभापति तोकेर नियमित महाधिवेशनको निर्णय हुनसक्ने पनि थापा निकट कतिपय नेताहरुले बताए । देउवा समूहले सुदूरपश्चिमसहित धेरै जिल्लाहरुमा संगठित रुपमै असहयोग गरेकाले पनि अहिलेको कमजोर नतिजा आएकाले गम्भीर समीक्षा आवश्यक रहेको थापा निकट नेताहरुको भनाई छ ।
निर्वाचनमा प्रत्यक्षतर्फ कुल १६५ सिटमध्ये कांग्रेसले जम्मा १८ सिट जितेको छ । सभापति थापासहित सबै पदाधिकारी र वरिष्ठ नेताहरूले निर्वाचन हारेका छन् । विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन गरिए पनि चुनाव हुनुअघि करिब ५० दिन मात्रै समय भएकाले मतदातासम्म नयाँ सन्देश प्रभावकारी रूपमा पु¥याउन नसक्दा पनि अहिलेको परिणाम आएको थापा निकट नेताहरुको बुझाई छ । थापा निकट रहेका केही नेताहरुले भने राजिनामा नदिन सुझाव दिइरहेका छन् । स्वयं सभापति थापा पनि अहिले मौन बसिरहेका छन् ।
