काठमाडौं, २९ फागुन । फागुन २१ को आम निर्वाचनमा एमालेले शर्मानाक पराजय भोगेपछि पूर्व राष्ट्रपति विद्या भण्डारीसँग एमालेका नेताहरुले भेटघाट गर्न थालेका छन् । विहिबार विहान एमाले सचिव तथा कोशी प्रदेशका मूख्यमन्त्री हिक्मत कार्कीले पूर्व राष्ट्रपति भण्डारीसँग डेढघण्टा गोप्य वार्ता गरेका छन् ।
एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग बढिरहेका बेला सचिव कार्की भण्डारीलाई भेट्न पुगेका हुन् । उनीहरुबीच एमालेले भोग्नपरेको पराजय र एमालेभित्र देखिएको असन्तुष्टिबारे लामो कुराकानी भएको थियो । एमालेले महाधिवेशनबाटै भण्डारीलाई पार्टीमा आउन रोकेपछि पहिलो पटक कार्की भेट्न पुगेका थिए । एमाले अध्यक्ष ओलीको झापास्थित ५ नं क्षेत्रका स्थायी बासिन्दा समेत रहेका कार्कीले एमालेको संभावित नेतृत्वको विषयमा पनि छलफल गरेको हुनसक्ने बताइएको छ ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको लज्जास्पद नतिजा आएपछि नेकपा एमालेमा नीति र नेतृत्व पुनर्गठनको बहस ब्युँतिएको छ । सुशासन कायम र भ्रष्टाचार नियन्त्रणको मागसहित भदौ तेस्रो साता भएको दुई दिने जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको मुद्दा मुखरर बनेपनि हतारमा ११ औं महाधिवेशन गराएर पुनः तेस्रो कार्यकाल अध्यक्षमा अनुमोदन भएका ओली त्यसलगत्तैको चुनावी नतिजामा नराम्रोसँग अस्वीकृत भएसँगै ओली पक्षका नेताहरुले पनि विकल्प खोज्न थालेका छन् । यही क्रममा मूख्यमन्त्री एवं एमाले सचिव कार्कीले भण्डारीलाई भेटघाट गरेको आशंका छ ।
कार्यकर्ताबाट अनुमोदित भएपनि जनताले ओलीको नीति र नेतृत्व दुवै अस्वीकार गरेर मत मार्फत विकल्प रोज्न दिएको सुझावलाई मनन् गर्दै एमालेमा भित्रभित्रै यस्तो बहस चल्न थासिकेपछि कार्कीले यो विषयमा आन्तरिक छलफल गर्न थालेका हुन कि भन्ने शंका गरिएको छ ।
२०७९ को निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा बढी २८ लाखमतसहित संसद्मा दोस्रो ठुलो दल बनेको एमाले फागुन २१ मा सम्पन्न निर्वाचनमा संख्याको हिसाबले निकै तल झरेको मात्र होइन, उठ्नै नसक्नेगरी पछारिएको विश्लेषण भइरहेको छ । पार्टीको लज्जास्पद चुनावी नतिजाबारे स्वयं अध्यक्ष ओलीले अहिलेसम्म मुख खोलिसकेका छैनन् ।
तर एमालेका अधिकांश नेता कार्यकर्ता अध्यक्ष ओलीको नीति र नेतृत्व तथा कार्यशैलीकै कारण ठुलो क्षति व्यहोर्न बाध्य भएको ठहरसहित अब नीति र नेतृत्वको विकल्प खोज्नुपर्ने निष्कर्षमा पुगेका छन् । यद्यपि नेता–कार्यकर्ताले यो बहस पार्टीका औपचारिक कमिटीमा गर्न पाएका छैनन् । उपमहासचिव योगेश भट्टराई स्वयं चुनावी नतिजाले एमालेको नीति र नेतृत्व दुवै अस्वीकृत गरेको भन्दै नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् ।
तर ओलीलाई शुक्रबार मात्रै पितृशोक परेका कारण केही दिन एमालेभित्र यो बहसले प्राथमिकता नपाउने भएको छ ।
