वकालत गर्ने क्रममा दैनिक जस्तो यस्तो केसहरु त हेरिन्छ तर हिजो एउटा ५ महिनाको बच्चा बोकेको निर्दोष महिलाको अवस्था देख्दा नेपालको न्याय प्रणालीको बारेमा केहि लेख्न बाध्य भएको छु ।
एउटी महिला बैदेशिक रोजगारीबाट नेपाल फर्किदै थिईन उनी बिदेश जादा उनी एक्लै थिईन तर २ बर्ष पछि फर्किदा उनी ५ महिनाको बच्चा लिएर आउन बाध्य भईन ! एयरपोर्टमै उनी पक्राउ परिन, उनी बिरुद्ध कसुर थियो बैदेशिक रोजगार सम्बन्धि ठगी, जो आफै ठगिएर नेपाल आउन बाध्य भएकी थिईन ।
बैदेशिक रोजगार विभागको पक्राउ पूर्जीको आधारमा प्रहरीले बच्चा सहितकी ती आमालाई पक्राउ गरेर थुनामा राख्यो, बच्चा बिरामी छ मलाई छोडिदिनुस भन्दै ती महिला रोइन, कराईन, चिच्याईन तर पनि उनको चित्कार कसैले सुनेन किनकि उनलाई पक्राउ गर्ने प्रहरीसग त केवल वैदेशिक रोजगार विभागले पठाएको पक्राउ पुर्जी मात्रै थियो, अनुसन्धान गर्ने निकाय प्रहरी नभएर वैदेशिक रोजगार विभाग थियो जसले गर्दा प्रहरीले छोड्न सक्ने अवस्था रहेनछ । त्यसपछि कसैले मेरो नम्बर दिएछ र म कहा आइपुगिन उनकी बहिनी ।

तस्वीरः एआइ
मैले ती महिलालाई सोधे तपाईलाई किन यस्तो आरोप लाग्यो त ? उनले भनिन् जसले मलाई बिदेश पठाएको हो, त्यही एजेन्टले मेरो खातामा अरूलाई पैसा हाल्न लगाएको रहेछ, मैले पैसा पनि त्यो एजेन्टलाई यलष्लिभ बाट ट्रान्सफर गरेको (फिर्ता दिएको ) प्रमाण छ, सो प्रमाण पनि मैले देखाए तर मेरो कुरा कसैले सुनेन भनिन ! ती महिला निर्दोष हुन या दोषी त्यो त पछी मुद्दामा एउटा फैसला होला तर दुधे बच्चा भएका, गर्भवती महिला, गम्भीर रोग भएका, बृद्ध नागरिकलाई थुनामा राख्ने र म्याद थप्ने कानुन छ तर त्यो कानुनको प्रयोग गर्ने कुरामा किन अन्धा कानुन जस्तो बनाएको यो सवाल अदालतमा पटक पटक मैले उठाउदै आएको छु ।
अदालतले न्याय देला की भनेर बाल अधिकार,सुत्केरी महिलाको अधिकार, प्रतिवादीको अवस्थाको बारेमा घण्टौ बहस गर्दा पनि म्याद थप्ने आदेश भयो, ति महिला आफ्नो ५ महिने बालक सहित प्रहरी हिरासतमा बस्न बाध्य भइन तर मलाई ति महिला सगै थुनामा बस्न बाध्य भएका ५ महिने अबोध शिशुको यादले रातभर नै झस्काइरह्यो र निदाउन समेत सकिन । आज ति महिलाको बहिनीले कानको सुन बेचेर ल्याएको बिगो बराबरको रकम वैदेशिक रोजगार बिभागको धरौटी खातामा जाहेरवालाले पाउने गरी जम्मा गरेपछि बच्चा र महिलालाई थुनामुक्त गरेर साँझमात्र निस्कदै गर्दा वैदेशिक रोजगार विभागमै सुने कि यस्तै मुद्दामा ८ महिनाको गर्भवती महिला पनि २० दिन देखि थुनामा रहेको जानकारी पाउदा आज पनि निदाउन सक्ने अवस्था रहेन । उनको न्यायको लागी पनि निरन्तर लाग्नेछु ।
अदालत र सरकारी निकायहरु अहिले पनि पहुचवालाहरुको कब्जामा छन। गरिब, असहाय र निमुखाले न्याय पाउने कुरा आकासको फल आखा तरी मर जस्तै भएको छ । कम्तिमा पनि कानुनको प्रयोग गर्ने निकायहरुले कसुरको मात्रा, प्रतिवादीको अवस्था, कसुर प्रमाणित हुनसक्ने आधार लगायतको अवस्था बुझेर विवेक प्रयोग गर्ने हो भने यस्तो अवस्था सायदै आउला । हामी यो न्यायको यात्राबाट पछि हट्ने छैनौ गरिब, निमुखा र अन्यायमा परेकाको सहारा बन्ने यो यात्रालाई केहीले पनि रोक्ने छैन !
अधिवक्ता राधिका खतिवडा गरिब, निमुखा र अन्यायमा परेकाको सहारा बन्दै आएकी छिन् ।
