सुमन पाण्डे ‘सुमन्त’
राजनीति भनेको जनताको सर्वोच्च शक्ति हो। राजनीतिक दलले त्यो सम्पूर्ण शक्तिलाई ग्रहण गरि सबै शक्तिलाई जनताको लागि परिचालन गर्नुपर्दछ।राजनीतिलाई जनतामुखि बनाउनुपर्छ । राजनीतिक दलले जनता माथि भएको अन्याय र अत्याचारको अन्त्य गरि गलत राजनीतिको बाटो छोड्नुपर्छ ।
राजनीतिलाई अङ्ग्रेजीमा Politics भन्ने गरिन्छ। Politics शब्द युनानी भाषाको Polis शब्दबाट बनेको हो। युनानी भाषामा Polis को अर्थ हुन्छ ‘नगर राज्य’।
सामान्यतया नगर राज्यको अवस्था, कार्यप्रणाली तथा आय–गतिविधिसँग सम्बन्धित विषयहरूको व्यवस्थापन गर्ने विषयलाई ग्रीकहरूले पोलिटिक्स भन्ने गर्दथे। ती साना नगर राज्यहरू वर्तमान समयमा राष्ट्र वा देशको रूपमा परिणत भइसकेका छन्।
राजनीति दुई वटा शब्दहरू ‘राज’ + ‘नीति’ मिलेर बनेको हो। ‘राज’ को अर्थ शासन गर्नु हुन्छ भने ‘नीति’ को अर्थ उचित समय र उचित स्थानमा उचित काम गर्ने कला भन्ने बुझिन्छ।
अथवा नीति भनेको कुनै विशेष व्यक्तिद्वारा शासन गर्नु वा विशेष उद्देश्यको प्राप्ति गर्नुलाई राजनीति भनिन्छ।
एकदमै सङ्कुचित रूपमा परिभाषित गर्ने हो भने शासन सत्ताको पद प्राप्त गर्नु अथवा सत्ताको प्रयोग गर्नु नै राजनीति हो।
विश्वभरि देशहरू र उनीहरूमा बसोबास गर्ने मानिसहरू राजनीतिका क्षेत्रबाट प्रभावित हुने गर्दछन्। ती देशहरूमा बस्ने मानिसहरूले सामूहिक रूपमा आफ्नो लागि कानुन र नीति–नियमहरू निर्माण गर्ने तरिका हो। साथै, तिनीहरूले लोकतान्त्रिक, संवैधानिक, कानुनी तथा नागरिक दृष्टिकोण अपनाएर सो कार्य गर्ने गर्छन्। राजनीतिक माध्यमबाट नै समाजहरू व्यवस्थित हुन्छन्, महत्वपूर्ण नीतिहरू लागू हुन्छन् र विविध समस्याहरूको समाधान गरिन्छ।
राजनीतिलाई नीतिहरूको राज्य भन्ने गरिन्छ। प्राचीनकालमा यी नीतिहरू राज्यका जनताको हितको लागि, उन्नतिका लागि र सुरक्षाका लागि प्रयोग गरिन्थे।
राजनीति भनेको राज्यको नीति, व्यवस्थालाई ठीक गरी जनताको लागि अन्य देशसँग कूटनीतिक सम्बन्धलाई ठीक राख्ने व्यवहारगत व्यवस्था नै राजनीति हो।
राजनीति राज्यव्यवस्थासँग सम्बन्धित विषय हो। समाजमा विभिन्न वर्ग, तिनीहरूको दृष्टि, तिनीहरूको सिद्धान्त, तिनीहरूको राजनीतिक कार्यक्रम, तिनीहरूको संगठन र श्रमजीवी वर्ग, तिनीहरूको दृष्टि, तिनीहरूको सिद्धान्त, तिनीहरूको राजनीतिक कार्यक्रम आदि सबै कुरा राजनीतिसँग सम्बन्धित हुन्छन्।
राजनीति भनेको जनताको सर्वोच्च शक्ति हो। राजनीतिक दलले त्यो सम्पूर्ण शक्तिलाई ग्रहण गरि सबै शक्तिलाई जनताको लागि परिचालन गर्नुपर्दछ।राजनीतिलाई जनतामुखि बनाउनुपर्छ । राजनीतिक दलले जनता माथि भएको अन्याय र अत्याचारको अन्त्य गरि गलत राजनीतिको बाटो छोड्नुपर्छ ।
राजनीति जनताको न्यायको लागि स्वतन्त्र राजनीतिको आवश्यक हुन्छ । राजनीतिक दलले अवसर आएको समयमा जनतामाझ क्षमता देखाउनुपर्छ, शक्ति देखाउनु हुदैन । राजनीतिलाई जुन रुपमा हेरेता पनि राजनीति समाजको अभिन्न अंग हो । बिना राजनीति कुनै पनि देश रहन्न।
