काठमाडौं, ९ चैत
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् । भेटमा दुई देशबीचको सम्बन्ध र ऊर्जा सहकार्यबारे छलफल भएको थियो ।
उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बंगलादेशबीच मित्रवत् एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गरे । उनले बंगलादेशसँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको समेत स्पष्ट पारेका छन् ।
उपराष्ट्रपति यादवले बंगलादेशमा हालै सम्पन्न निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै नयाँ सरकारलाई सफलताको शुभकामना दिए । नेपालमा पनि प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको उल्लेख गर्दै उहाँले दुवै सरकारबीच सहकार्य सुदृढ हुँदै नेपाल–बंगलादेश सम्बन्धका विविध आयामले थप उचाइ हासिल गर्ने पनि उपराष्ट्रपतिको विश्वास थियो ।
नेपालको विकासका लागि बंगलादेशको अनुभवबाट असल अभ्यासहरू सिक्न सकिने बताउँदै उपराष्ट्रपति यादवले सहकार्यद्वारा दुवै देशका जनताहरूको सुख–समृद्धि अभिवृद्धि हुनेमा जोड दिएको उपराष्ट्रपतिको सचिबालयले जनाएको छ ।
राजदूत रहमानले नेपाल–बंगलादेश सम्बन्ध आपसी विश्वासमा आधारित रहेको र जनता–जनताबीचको सम्बन्धमा निहित रहेको उल्लेख गरे । उनले वाणिज्य, शिक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिन सकिने बताउँदै हाल नेपालबाट ४० मेगावाट विद्युत प्राप्त भइरहेकोमा यसलाई ६० मेगावाट पुर्याउन अनुरोध गरे । साथै, नेपालको व्यापार घाटा कम गर्न बंगलादेश सहकार्य गर्न तयार रहेको राजदूत रहमानको भनाई थियो ।
