टीकापुर जेसीज: गौरवमय २५ बर्ष

टीकापुर जेसीज: गौरवमय २५ बर्ष


टीकापुर जेसीज: गौरवमय २५ बर्ष

 

  • सम थापा 

टीकापुरको समृद्धिको लागि हामीले ठुला - ठुला योजना र आयोजनाको अपेक्षामा बर्षौ बिताएका छौं । नेतृत्व तहमा रहेको यहाँको पहिलो पिढीले टीकापुरलाई समृद्ध बनाउन निरन्तर कोशिस गरि रहेको छ । कृषि, उद्योग र पर्यटनलाई यस क्षेत्रको समृद्धिको आधार मानिएको छ ।

तर टीकापुरले राज्यका तर्फबाट जति सुविधा पाउनु पर्ने हो त्यती पाउन सकेको छैन । लगानीका दृष्टिले टीकापुर राज्यबाट अन्यायमा परेको यस क्षेत्रका बासिन्दाको अनुभूति छ । राज्यसंग टीकापुरका दर्जनौं मागहरु छन । ती मागहरु पुरा भएमा टीकापुरले न्याय पाएको ठहरिने छ । र देशमै एक सुन्दर सहरको परिचय टीकापुरले पाउनेछ ।

यो टीकापुरवासीको बर्षौं देखिको सपना हो । यी सपनाहरु सरकारसंग जोडिएका छन । सरकारको सहभागिता बिना टीकापुरको समृद्धि सम्भव छैन । यो हामीले बुझेको कुरा हो । तर सरकारको निगाह पर्खेर मात्र टीकापुरलाई यथास्थितिमा राख्न सकिदैन ।

यस सुन्दर सहरको समृद्धिका लागि जनस्तरबाट पनि केही पहलहरु गर्नुपर्छ भन्ने आवाज बेला बेलामा उठदै आएका छन । त्यही अनुसार कामहरु पनि अघि बढेका छन । जनस्तरका कामको जिम्मेवारी टीकापुरको युवापङ्तिले लिदै आएको छ । यसको स्वतस्फुर्त नेतृत्व गरेको छ टीकापुर जेसीजले ।

स्थापनाको २५ औं बर्षगाठसंगै टीकापुर जेसीजले यही भदौ २४ र २५ गते ‘घ’ क्षेत्र सम्मेलन सम्पन्न गरेको छ । नवलपरासी पश्चिम देखि महाकालीसम्म विभिन्न सहरमा रहहेका ५५ शाखाका करिब एक हजार युवाहरु ‘घ’ क्षेत्र सम्मेलनमा सहभागी भए ।

यी एक हजार युवाहरु कुनै न कुनै रुपमा समाजको नेतृत्वपंङ्तिमा जोडिएका युवाहरु हुन । जसले भविष्यमा देश र जनताको नेतृत्व कुशलतापूर्वक गर्नु पर्छ भन्ने ध्येय बोकेका छन ।

देशका विभिन्न भुगोलबाट फरक- फरक संस्कृती भेषभुषा र रहन सहनमा हुर्केका यी युवाहरुको साक्षात्कार टीकापुरको सुनौलो भविष्य हेरिरहेका यहाँका युवाहरुसंग भएको छ । २१ बर्ष पछि दोश्रो पल्ट आयोजना भएको यो सम्मेलनलाई टीकापुरवासीले गौरवपूर्ण रुपमा लिएका छन् ।

 बर्ष २००१ मा पहिलो पल्ट घ क्षेत्र सम्मेलन हुदा टीकापुर विकासको गतीमा बामे सर्दै थियो । त्यो सन्त निरंकारी मण्डलको भवन प्राङ्गणमा आयोजित घ क्षेत्र सम्मेलनमा नवलपरासी पश्चिमका थुप्रै युवा नेताहरुले पहिलो पल्ट टीकापुरमा प्रवेश गर्दा हामीले नेतृत्वका लागि भातृत्व विकास भएको पाएका थियौं ।

बर्ष १९९७ मा टीकापुरमा जेसीज स्थापना भयो र, त हामी धरान जान पायौ । झापा, जनकपुर, पोखरा लगायतका सहर र सहरियाहरुसंग भाइचाराको नाता गास्न पायौं । त्यस बखत टीकापुरबाट अरु कारणले ती सहरहरुमा जानु पर्ने अधिकांशका लागि कुनै कारण थिएन । एउटा मात्र कारण थियो त जेसीज अभियान ।

टीकापुरका युवाहरुको लागि जेसीज अभियानले जुराई दिएको यस अवसरलाई हामीले यहाँको नेतृत्व विकाससंग जोडेर हेरेका छौं । जेसीज अभियानले टीकापुरमा सफल तथा कुशल नेतृत्व प्रदान गरेको छ । रजत उत्सव पुरा गरेको यस अभियानले टीकापुरमा हालसम्म सयौं युवाहरुलाई दीक्षित गर्दा हजारौसम्ममा नेतृत्वको कला र सीप पुगेको छ । म पङतिकारले पनि जेसीज अभियानसंग जोडिएकै कारण नेतृत्वका विभिन्न तहसम्म पुग्ने अवसर पाएको छु ।

टीकापुर जेसीज र हामीले गौरव गर्नु पर्ने कारणहरुका बारेमा चर्चा गर्नु पर्दा हामीले टीकापुर जेसीजलाई २५ बर्षदेखि अविछिन्न नेतृत्व गरेका तत्कालीन युवाहरुलाई संझनु पर्छ । टीकापुरको विकास समृद्धि र सामाजिकारणमा उहाँहरुको योगदान बारेको चर्चा नयाँ पुस्ताका लागि प्रेरणा हुन्छ । जेसीजको नेतृत्व गर्दै खारिएका ती २५ जना पूर्वअध्यक्षहरुको योगदान नेतृत्व विज्ञानका दृष्टिले टीकापुरका लागि गौरवपूर्ण मान्नु पर्छ ।

 युवावस्था जेसीज अभियानमा खर्चेर चालिसपछिको उमेरमा पनि समाजको हितप्रति युवासरह जोश जागँर र समर्पणका साथ सक्रिय ती व्यक्तिहरु मध्ये म टीकापुर जेसीजका संस्थापक अध्यक्ष प्रा. डा. जगत बहादुरसिंह रावललाई सम्झन चाहान्छु ।

२०५० सालमा मैले पहिलो पल्ट रावल सरलाई विरेन्द्र विद्या मंदिर उच्च माबिमा भेटेको थिए । भर्भराउदो युवाका रुपमा उक्त माबिको प्राचार्यको जिम्मेवारी सम्हाल्न टीकापुर आउदा टीकापुरले उहाँबाट गरेका अपेक्षा उहाँले पुरा गरिछाडनु भयो । उहाँले टीकापुरलाई कहिल्यै निरास पार्नु भएन ।

तत्कालिन अवस्थामा रावल सर जत्तिको विद्वान व्यक्तिले टीकापुरलाई नै कर्मथलो बनाउनु चानचुने कुरो थिएन । उहाँ टीकापुर बहुमुखी क्याम्पसको प्रमुख पनि हुनभयो । शिक्षाका क्षेत्रमा उहाँको योगदान त महत्वपूर्ण छ नै ।

टीकापुर जेसीजको संस्थापक अध्यक्षको जिम्मेवारीमा आउदा रावल सरको नेतृत्वमा यस क्षेत्रका चुनिंदा युवाहरु संगठित हुनपाए । उहाँको नेतृत्वमा रहेका अधिकांश जेसीज युवाहरु पछि पालै पालो टीकापुर जेसीजको अध्यक्ष भएको देखिन्छ ।

रावल सर नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष र कार्यकारी उपाध्यक्षसम्म भइ  नेपाल जेसीजको नेतृत्व तहमा आफुलाई स्थापीत गर्न सफल भए । नेपाल जेसीजको  उच्च जिम्मेवारीमा पुग्नु त्यतीबेला कर्णालीवारीको नेपालबाट ठुलै उपलब्धी थियो । टीकापुरमा सम्मानित र विद्वान व्यक्तिका रुपमा उहाँको परिचय स्थापित छ । हाल उहाँ पूर्णरुपमा समाजसेवामा समर्पित हुनुहुन्छ ।

त्यसैगरी जेसीज अभियानले स्थापीत गरेको अर्को नाम किर्तिसिंह बम हो । बम सर बर्ष १९९९ मा टीकापुर जेसीजको अध्यक्ष रहनुभयो । टीकापुरलाई कर्मक्षेत्र बनाई शैक्षिक विकासमा उहाँको योगदान महत्वपूर्ण छ ।

बम सरसंग परिचय नहुदो हो त यो पङतिकार जेसीज अभियानमा जोडिने थिएन । बम सरकै प्रेरणाबाट म पनि जेसीजमा जोडिए र दुई दशक अभियानमा रहें । शिक्षणका अतिरिक्त टीकापुरको  समग्र विकासमा चिन्तनसिल रहने व्यक्तिका रुपमा बम सरको परिचय छ । कतिपय सामाजिक विषयका लागि हामी उहाँलाई अभिभावकका रुपमा सम्मान गर्दै आएका छौं ।

टीकापुरका सन्दर्भमा समाजसेवा र जगदीश्वर पण्डित एक अर्काका परिपुरक जस्तै हुन भन्दा अतिशयोक्ति नहोला । बर्ष २००० मा उहाँ टीकापुर जेसीजको अध्यक्षका रुपमा रहनुभयो । कुनै बेला राजनीतिमा समेत सक्रिय रहनु भएका पण्डित युवाका लागि आइडिएल थिए ।

व्यवसायिक र सामाजिक दुबै जीवनमा पण्डित सफल व्यक्ति हुन । भ्वाइसमा कमाण्ड व्यवहारमा स्पष्ट र समाजसेवामा अहोरात्र खटने उहाँले पछिल्लो समयमा रेडक्रस जस्तो महत्वपूर्ण संस्थालाई नेतृत्व प्रदान गर्नु भएको थियो । टीकापुरका समस्या र संभावनाका बारेमा गरिने विचार विमर्शमा उहाँको उपस्थिति महत्वपूर्ण मानिदै आएको छ ।

टीकापुरका सपना र संभावनाहरुलाई यथार्थमा बदल्ने अठोटका साथ  युवावस्थामै सफल व्यवसायीको छवी बनाउन सफल राजकुमार हमाल टीकापुर जेसीजका बर्ष २००१ का अध्यक्ष हुन । टीकापुरको अर्को महत्वपूर्ण व्यवसायीका संस्था टीकापुर उद्योग बाणिज्य संघको अध्यक्ष समेत भइ व्यवसायी हकहितमा क्रियासिल उहाँ यहाँको समाजका लागि सबैले रुचाइएका व्यक्तिका रुपमा चिनिन्छन ।

त्यसैगरी बर्ष २००२ मा टीकापुरको जेसीजको अध्यक्ष हुनुभएका अर्का डाइनामिक व्यक्तित्व हुन नवराज रावल । पछिल्ला दुई दशक टीकापुरको विकास र समृद्धिमा आफ्नो जीवन समर्पण गरिरहनु भएका उहाँसंग करिब आधा दर्जन संस्थालाई हुर्काएको अनुभव छ ।

रेडक्रस खानेपानी उद्योग वाणिज्य संघ जस्ता संस्थाहरुको संस्थागत विकासमा उहाँको योगदान अतुलनीय छ । यस क्षेत्रको विकास निर्माणमा पहलकदमी लिन कहिल्यै नथाक्ने रावल हाल राजनीति कर्ममा सक्रिय हुनुहुन्छ । समाजसेवा प्रतिको उहाँको समर्पणलाई हालको युवापुस्ताले प्रेरणाका रुपमा लिदै आएको छ ।

बर्ष २००३ का अध्यक्ष हेमराज गिरीको पनि टीकापुरमा योगदान प्रशस्त रहेको पाइन्छ । टीकापुरले शहरको रुप धारण गर्दाखेरी क्यामेरा र फोटो व्यवसाय हुदै टीकापुरमै पहहिलो पल्ट कलर ल्याव जस्तो व्यवसाय अङ्गालेका गिरी विगत तीन दशक देखि सफल व्यवसायीका रुपमा टीकापुरमा परिचित छन । उहाँले उद्योग बाणिज्य संघको केन्द्रिय सदस्यका रुपमा टीकापुरको प्रतिनिधित्व गरिसक्नु भएको छ ।   

राजनीतिकर्मी व्यवसायी तथा समाजसेवीको परिचय बनाएका बखत बहादुर विष्ट बर्ष २००४ का टीकापुर जेसीजका अध्यक्ष हुन । २०५४ सालमा साविक बलिया गाविसका अध्यक्ष समेत रहिसक्नु भएका उहाँले थुप्रै संघसंस्थाहरुमा कुशलतापूर्वक नेतृत्व गरिसक्नु भएको छ ।

बर्ष २००५ का अध्यक्ष श्याराज पाण्डे पेशाले पशु स्वास्थ्यकर्मी हुन । टीकापुरको समाजमा मिलनसार चाडै घुलमिल हुनसक्ने मिलनसार व्यक्तिका रुपमा उहाँको परिचय स्थापित छ ।

पर्यटन व्यवसायीका रुपमा परिचय बनाएका थर्क बहादुर शाह बर्ष २००६ का अध्यक्ष हुन । नेपाल चेम्बर अफ कमर्स टीकापुरको अध्यक्ष लायन्स क्लव र पर्यटन सम्बद्द संघसंस्थामा सक्रिय छन । टीकापुरको विकास र समृद्धिको अभियानमा सदैव उहाँको सक्रियता रहदै आएको छ ।

बर्ष २००७ का अध्यक्ष तुला चन्द महिला अधिकारकर्मी हुन भने २००८ का अध्यक्ष माधव अचार्य टीकापुरको शैक्षिक विकासमा परिचित नाम हो । बर्ष २००९ का अध्यक्ष उत्तम जोशी सहयोगी मृदुभाषी र मिलनसार व्यक्तिका रुपमा टीकापुरको समाजमा परिचित छन ।

उहाँ कैलाली रेडक्रस सोसाइटीको सभापति जस्तो महत्वपूर्ण जिम्मेवारी मार्फत समाजसेवामा सक्रिय हुनुहुन्छ ।  यसैगरी बर्ष २०१० का अध्यक्ष आनन्द हमाल टीकापुर उद्योग बाणिज्य संघको पूर्व अध्यक्ष समेत हुन ।

युवावस्था देखिनै टीकापुरलाई उद्योग र व्यवसायका माध्यमद्वारा देशभरी चिनाउनु पर्छ भन्ने मान्यता राख्दै आउनुभएका हमाल यस क्षेत्रका सफल व्यवसायी हुन । व्यवसायीहरुको हकहितका लागि अग्रपंतिमा रहेर नेतृत्व गर्दै आउनु भएका उहाँ टीकापुरमा लोकप्रिय मानिन्छन ।

त्यस्तै पुरै युवावस्था टीकापुरमै विताएर व्यवसाय गरिरहनु भएका चक्रपाणी सापकोटा टीकापुर जेसीजको बर्ष २०११का अध्यक्ष हुन । नीजि क्षेत्रका तर्फबाट टीकापुरको शैक्षिक क्षेत्रको विकासमा समेत संलग्न सापकोटा सफल व्यवसायी हुन । हाल उहाँ टीकापुर उद्योग बाणिज्य संघको अध्यक्षको जिम्मेवारीमा छन ।

टीकापुरको समग्र विकासमा अहोरात्र सक्रिय रहने नाम हो टीकाराम जैशी । जैसी बर्ष १०१२ का अध्यक्ष हुन । टीकापुरलाई समृद्ध सहरका रुपमा रुपान्तरण गर्न कम्मर कसेर लागिपर्ने उहाँ यस क्षेत्रका प्रतिष्ठित उद्योगपति हुन ।

पछिल्लो समयमा सफल व्यवसायीका रुपमा उहाँ देशभरी परिचित हुनुहुन्छ । बर्ष २०१३ का अध्यक्ष गोपीराम जैशी पनि टीकापुरका सफल व्यवसायी तथा समाजसेवीका रुपमा चिनिनुहुन्छ । यसैगरी बर्ष २०१४ का अध्यक्ष टेकनारायण पौडेल स्वास्थ्य सम्बन्धी व्यवसायसंग सम्बन्धित हुनुहुन्छ । उहाँ स्वास्थ्य क्षेत्रका राम्रा व्यवसायीमा गनिनुहुन्छ ।

टीकापुरमा सबैका प्रिय भनेर परिचय बनाएका राम बहादुर भण्डारी बर्ष २०१५ का अध्यक्ष हुन । टीकापुरका उद्योगी व्यवसायीहरुको संस्था उद्योग वाणिज्य संघको अध्यक्ष समेत भइसक्नु भएका भण्डारी निर्माण व्यवसायी हुन । बर्ष २०१६ का अध्यक्ष प्रकाश शाह उदियमान राजनीतिकर्मी हुन । समकालीन युवापंङ्तिमा रुचाइएका शाह समाजसेवामा पनि अब्बल मानिन्छन ।

बर्ष २०१७ का अध्यक्ष टेकराज रेग्मी टीकापुरका युवाहरुका लागि रोलमोडेल हुन । आधा दर्जन बढी व्यवसायिक संस्थालाई कुशलतापूर्वक सञ्चालन गरिरहनु भएका रेग्मी टीकापुरका उदियमान युवा व्यवसायी हुन ।

नेपाल जेसीजको उपाध्यक्ष  र महासचिव जस्तो गरिमामय जिम्मेवारी सफलतापूर्वक पुरा गरी देशभरी नै ख्याती कमाएका उहाँलाई टीकापुरले आशाको किरणका रुपमा हेरेकोछ ।

बर्ष २०१८ का अध्यक्ष लालकेश जैशी पनि टीकापुरका युवा उद्यमीका रुपमा स्थापित छन । यसैगरी बर्ष २०१९ का अध्यक्ष हुन गणेश बहादुर साउँद । जीवन विमा अभियन्ता साउँद सफल इम्प्लोई मात्र होइनन् सफल संस्कृतीकर्मी पनि हुन ।

सुदूरपश्चिमको कला र साहित्यको संरक्षण र प्रवर्द्धनमा बर्षौ देखि साउँद सक्रिय छन । उहाँले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी पुरा गरिसकेका छन ।

यसैगरी बर्ष २०२० का अध्यक्ष तपेन्द्र स्वाँर युवा उद्यमी हुन । उद्योग बाणिज्य संघ टीकापुरको पदाधिकारी टिममा रहेर व्यवसायीवर्गको हकहितमा क्रियासिल स्वाँर युवापङतिमा प्रिय मानिन्छन ।

बर्ष २०२१ का अध्यक्ष लक्ष्मण थापा टीकापुरका युवा समाजसेवी का साथै उदियमान राजनीतिकर्मी पनि हुन । यसैगरी बर्ष २०२२ का अध्यक्ष टोप प्रकाश बिक पेशाले सञ्चारकर्मी र डिजिटल प्रविधीमा आधारित व्यवसायी हुन ।

बिकले विगत डेढ दशक देखि मुलधारका सञ्चार माध्यममा  काम गरेको अनुभव प्राप्त गरेका छन । टीकापुरको समाजमा उहाँ सबैले रुचाइएका व्यवसायीमा पर्नुहुन्छ ।

वितेका २५ बर्षमा टीकापुर जेसीजको ब्यानरमा कुशल नेतृत्वका लागि भाग्य अजमाएका व्यक्तिहरुको विवरण हो यो । उहाँहरुले जेसीज अभियानमा सिकेका र अनुभव गरेका कुराहरु आफ्नो दैनिक जीवनमा मात्र लागु नगरी समाजको समृद्धि र विकासका लागि पनि खर्चेका प्रशस्त उदाहरणहरु ताजै छन ।

वितेका २५ बर्षले जेसीजको प्लेटफर्मबाट टीकापुरको राजनीतिक, व्यवसायीक र सामाजिक नेतृत्वको मागलाई केही अंशका रुपमा पूर्ती गरेकोछ । अग्रजहरुका योगदानलाई प्रेरणा मानी अहिलेको टीकापुर जेसीज नविमतम मोडेलमा अघि बढेको देखिन्छ ।  

(थापा कोहलपुर जेसीजका संस्थापक अध्यक्ष हुन)     

 

 

 


प्रकाशित मिति: शनिबार, २५ भदौ, २०७९, २१:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९