भोजराज भाट
काठमाडौँ, । पाटनको गोल्डेन टेम्पलमा छिर्दा उनी केही गम्भीर देखिन्थिन् । गेटभित्र पस्नासाथ दुई हात जोडी भगवानलाई पुकार गरिन् ।
सायद त्यो दिन उनको लागि टर्निङ पोइण्ट थियो, त्यसैले भगवान समक्ष पुकार गरिन् होला । तर, वास्तविक पुकार सुन्ने अर्कै भगवान थिए । एन्फा कम्प्लेक्समा खट्एिका ५ जना छनौट प्रशिक्षक । यी प्रशिक्षकको नजरमा शान्ति वि.क. परिनन् ।
बंगलादेशमा हुन गइरहेको 'यु-१५ साफ महिला फुटबल' प्रतियोगिताका लागि मुलुकभरबाट आएका करिब १२० खेलाडीमध्ये शान्ति 'टप ६०' को लिष्टमा परेर पनि अन्तिम छनौटको क्लोज क्याम्पमा पर्ने 'टप ४०' भित्र अटाउन सकिनन् ।
रिजल्ट आएकै दिन संयोगले शान्ति वि.क. दशरथ रंगशालामा भइरहेको नेपाल भर्सेस् श्रीलंकाको साफ महिला फुटबल हेरिरहेकी थिइन् । मैले मोबाइलमा उनलाई रिजल्ट देखाएँ, उनमा 'टप ४०' भित्र नपरेकोमा रत्तीभर निराशा थिएन ।
उल्टै भन्दै थिइन्, 'सर, अर्को वर्ष अझ राम्रो तयारी गरी आउँछु, अनि यी दिदीहरुजस्तै (दशरथ रंगशालामा खेलिरहेकी नेपालकी खेलाडीप्रति इंगित गर्दै) राम्रो खेल देखाउँछु, देशलाई जिताउँछु ।'
साच्चै शान्ति वि.क. टप ४० भित्र नपरे पनि उनमा एकखाले भुक पक्कै जागेको छ । र, त्यो भुकलाई जर्गेना गर्ने, प्रद्धर्वन गर्ने सच्चा व्यक्तिको साथ भएमा उनी पक्कै पनि राष्ट्रिय टीमको जर्शी लगाएर देशकै शान बन्नेछिन् ।
तर, शान्ति वि.क.जस्ता प्रतिभावान खेलाडीहरुलाई निरन्तर खेल्ने वातावरण दिन, खेलमा टिकाइरहन र प्रोत्साहन गरिरहन धेरै गारो छ । एक जोर जुत्ता फाटेमा बा-आमालाई जुत्ता किन्न अनुरोध गरियो भने जवाफ आउँछ- 'भैगो पर्देन फुटबल खेल्न । खुरु-खुरु पढ् अनि घरको काम गर ।'
हुन पनि शान्ति वि.क.का अभिभावहरुको आर्थिक अवस्थाले उनीहरुलाई त्यस्तो भन्नुपर्ने बाध्यता छ । शान्तिका बुबा प्लम्बर सहायकको दिन मजुरी गर्छन् । आमा ढुंगागिट्टी फुटाउने काम गर्छिन् । दिन मजुरीबाट आएको पैसाले घर चलाउनै गारो परिरहेको वेला छोरीको जुत्ताका लागि १५०० को जुत्ता किन्ने पैसा जोहो गर्नु कल्पना बाहिरको कुरा हो ।
शान्ति वि.क. यु १५ को छनौट प्रक्रियामा पूर्वी कैलालीस्थित आफ्नो गाउँ बागमाराबाट पहिलोपटक सदरमुकाम धनगढी पुगिन्, त्यसपछि प्रदेशस्तरीय छनौटका लागि कञ्चनपुरको पुर्नवास गइन् । यसैमा उनको ४००० रुपियाँ खर्च भयो ।
त्यसपछि राष्ट्रिय छनौटका लागि सुदुरपश्चिम प्रदेशबाट नाम सिफारिश भएको खबर आउँदा शान्ति वि.क.को परिवारमा खुशी हुनुको साटो झमेला आइलाग्यो । कहाँबाट ल्याउनु एक हप्ता काठमाडौं बसाइ र आउने/जाने भाडाको खर्च ?
वार्षिक पुग-नपुग एक अरब बजेट भएको एन्फाको बजेट पुस्तिकामा यस्ता प्रतिभावान खेलाडी छान्ने कार्यक्रमको लागि जिल्ला र प्रदेशस्तरीयरुपमा एक सुको पैसा नपठाइदो रहेछ । जिल्ला र प्रदेशका पनि आफ्नै दुःख-पीडा रहेछन् ।
कमसेकम प्रदेशस्तरीयबाट छानिएर एन्फा कम्प्लेक्स पठाइएका राम्रा खेलाडीहरुको आते/जाते खर्च र काठमाडौं बसाइ त एन्फाले बेहोर्नु पर्ने हो नि ? अत्यन्त शालिन स्वभावका कैलाली जिल्ला फुटबल संघका महासचिव ललित मिश्र भन्दै थिए, 'के गर्नु सर, हामीहरु सबै भोलिन्टियर नै हो ।'
सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव काशीराम बोहरा पनि आफ्नै पीडा पोख्दै थिए- 'पुर्नवासमा दुई दिने प्रदेशस्तरीय छनौट कार्यक्रम आयोजना गर्न लालझाडी युवा क्लबका साथीभाइसँग सहयोग मागेका हौं । अन्य कतैबाट एकसुको पैसा आएको छैन ।'
सहयोग रकमका लागि स्थानीय पालिकालाई गुहारौं, उनीहरु भन्छन्- 'एन्फामा त्यत्रो अरब बराबरको बजेट छ, उतैबाट माग्नुस् न ।' उता एन्फाका पदाधिकारी पनि सजिलै सुझाव दिन्छन्- 'पालिकामा करौडौं बजेट हुन्छ, उनीहरुसँग माग्नुस् न ।' विचरा अभिभावक भने रनभुल्लमा पर्छन् । पठाऊ त्यत्रो खर्च कहाँबाट जुटाउने, अनि नपठाऊ यस्तो अवसर आएको छ, त्यत्तिकै खेर जाला भन्ने पीर । बच्चाको भविष्यका लागि ऋण जोहो गरेरै अभिभावकले खर्च जुटाइरहेका हुन्छन् । यसको वास्तविक पीडा बुझ्नेतिर न एन्फा लाग्छ, न स्थानीय पालिकाका जनप्रतिनिधिहरु नै ।
पैसाकै प्रसंग उठ्दा राम्रा खेलाडी जहिलै पछि परेको पीडा एक जना प्रशिक्षकले सुनाएँ । उनी भन्दै थिए, 'यसअघिका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जसले फुटबलका लागि रकम खर्च गर्न सक्दैनन्, त्यस्तालाई सेलेक्सन नगर्नु भनेर निर्देशन दिनु भएको थियो । उहाँको निर्देशन मानौं राम्रा खेलाडी छुट्छन् । नमानौं, त्यस्ता खेलाडीहरुको काठमाडौंमा छनौट गर्नका लागि जाने-आउने र त्यहाँ बस्ने खर्च नै हुँदैन ।'
त्यसो भए एन्फाका जिल्ला र प्रदेशस्तरीय संरचनाको काम के त ? भनी प्रश्न गर्दा उनको जवाफ थियो, 'यस्तै छनौट गरिदिने, लेटरप्याडमा नाम पठाइदिने हो ।' ओहो, पीडा सबैका उस्तै रहेछन् । केवल लेवल-लेवलका फरक रहेछन् ।
फेरि शान्ति वि.क.कै प्रसंगमा जाऊ । शान्तिको गाउँबाट तीन जना खेलाडी राष्ट्रिय प्रतिष्पर्धाका लागि सु्दूरपश्चिम प्रदेशबाट छनौटमा परेकामध्ये एक जना खेलाडी लिला चन्दका अभिभावक मात्र आर्थिकरुपमा काठमाडौं पु-याउन सक्ने हैसियतका थिए ।
बाकीं दुई जना शान्ति वि.क. र लक्ष्मी ओलीको अवस्था नाजुक अवस्था थियो । उनीहरुले जेनतेन गाउँबाट ऋण उठाएर शान्ति र लक्ष्मीलाई लिला चन्दका बुबाको जिम्मेवारीमा काठमाडौं पठाए । काठमाडौंको हप्तादिने बसाइमा पहिलो 'टप ६०' भित्र लिला चन्द र लक्ष्मी ओली परिनन् ।
शान्ति वि.क. रक्षापंक्तिमा उत्कृष्ट खेल देखाउँदै ६० भित्र अटाइन् । तर, बाकी दुई दिनको खेलमा अझ उत्कृष्ट खेलेर टप ४० भित्र परी राष्ट्रिय टीमको बन्दसत्रमा पर्ने शान्ति वि.क.को सपना अधुरै रह्यो । छनौट भएका खेलाडीहरु के साच्चै 'यु-१५' उमेर समूहका छन् त ? अहिले त्यतातिर नजाऊ ।
किनकि, त्यसको वास्तविकता एमआरआई रिपोर्टले देखाउँला । तर, एउटा प्रसंग यहाँनेर लेख्न मन लाग्यो । छनौट कार्यक्रमका पाँचै दिन म एन्फा कम्प्लेक्समा पुगेको थिएँ । एक जना अभिभावकले आफ्नी छोरीलाई सचेत गराउँदै थिए, 'कही १२ कक्षा पढ्दैछु भनेर भन्लिस्, त्यसो नभनेस् है ।'
त्यो सुनेर मलाई सारै नमजा लाग्यो । यहाँ अभिभावक नै बच्चालाई झुट बोल्न सिकाउँछन् । अनि झुट बोलेर राष्ट्रिय खेलाडीहरु भएकाहरुबाट हामीले के अपेक्षा गर्ने ? छनौटमा आएका खेलाडीहरु कोही त ब्याचलर फस्र्ट इयर पढ्दै गरेकासमेत रहेछन् । 'प्लस २' पास गरिसकेका खेलाडी कसरी, कुन आधारमा 'यु-१५' भित्र प्रतिष्पर्धा गर्न आइरहेका होलान् ? मेरो मानसपटलमा त्यो कुरा खेलिरह्यो ।
टप ४० भित्र छानिएका सुदूरपश्चिम प्रदेशबाट आएका नौ जना खेलाडीहरुको पनि आफ्नै पीडा थियो । रिजल्ट भदौ २७ गते बेलुकी आयो, छानिएका खेलाडीलाई ३१ गते सम्पर्कमा आउन भनिएको छ ।
यसबीचमा छानिएका खेलाडीहरुको बस्ने, खाने खर्च कसले दिने ? एन्फाका पदाधिकारी भन्छन्, 'खेलाडी आफैंले तिर्नुपर्छ ! किनकि भदौ ३१ गतेदेखि हप्तादिनको क्लोज क्याम्पदेखि मात्र एन्फाले खर्च बेहोर्छ । ४० भित्र परेकालाई मात्र आउने जाने बस भाडा दिन्छ, अरुलाई दिदैन ।' ओहो, भन्न त कत्ति सजिलो है ।
खैर, टप ४० भित्र पर्न नसके पनि शान्ति वि.क. गाउँ नफर्किदै उनलाई हौसला दिने, ढाडस दिनेहरुको संख्या बढेको छ । स्थानीय सामुदायिक वनले शान्ति वि.क.को काठमाडौं खर्च जुटाइदिने प्रतिवद्धता दिएको छ ।
शान्ति वि.क. पढ्ने स्कुलले पनि बागमाराबाट छनौटका लागि काठमाडौं गएका तिनै जना खेलाडीलाई सम्मान गर्ने भएको छ । फुटबल खेलेर के हुन्छ भन्नेहरुलाई गाउँमा शान्ति वि.क.हरुले एक सकारात्मक सन्देश दिएका छन्, फुटबल खेलेरै उनले आफ्नो जिल्ला सदरमुकाम धनगढी बजार देख्न पाए ।
त्यहाँ पहिलोपटक फुटसल खेल्ने अवसर पाए । फुटबलले पहिलोपटक कञ्चनपुर देखायो । काठमाडौं पुगेर राष्ट्रियस्तरको छनौटमा सहभागी हुने मौका जु-यो । अझै निरन्तर खेलिरहे भने राष्ट्रिय टीममा परेर देशकै गौरब बन्ने दिन टाढा छैन । त्यसैले शान्ति वि.क. यसपालि छनौटमा नपरेर के भयो र, उनी हारेर पनि जितेकी छिन् । जय हो चेली फुटबल अभियान ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९