काठमाडौं २५ चैत।
सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा ले आफू र आफ्नो परिवारविरुद्ध भ्रामक तथा झुटा प्रचार गरिएको बताएका छन्।
हाल स्वास्थ्य उपचारका लागि पत्नी आरजु राणा देउवा सँग हङकङमा रहेका देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सम्पत्तिको विषयलाई लिएर अनावश्यक भ्रम फैलाइएको दाबी गरेका हुन्।
मंगलबार साँझ अदालतबाट देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको थियो। तर, उक्त विषयमा आफूलाई औपचारिक जानकारी नभई सञ्चारमाध्यममार्फत मात्र खबर पाएको देउवाको भनाइ छ।
उनले सार्वजनिक पदमा रहँदा कानुनअनुसार आफ्नो सम्पत्तिको विवरण सम्बन्धित निकायमा नियमित रूपमा पेस गर्दै आएको उल्लेख गर्दै भने, “मेरो जीवन एउटा खुला पुस्तकजस्तै हो, सम्पत्तिबारे गरिएका प्रचारहरू भ्रामक छन्।”
गत भदौ २४ गते ‘जेन–जी आन्दोलन’ का क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो। उक्त घटनामा देउवा दम्पती घाइते भएका थिए भने आगलागीपछि जलेको अवस्थामा नगद फेला परेको भिडिओ सार्वजनिक भएसँगै सम्पत्तिको स्रोतबारे प्रश्न उठ्दै आएको थियो।
देउवाले लोकतन्त्र, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताका लागि आफूले जीवनभर संघर्ष गरेको उल्लेख गर्दै विगतमा आफ्नै पहलमा लागू भएका कानुनहरूको स्मरण गराए। “२०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र २०५९ सालमा भ्रष्टाचार निवारण ऐन मेरो नेतृत्वमा लागू भएका हुन्,” उनले भने।
वास्तविकता समयसँगै स्पष्ट हुने विश्वास व्यक्त गर्दै देउवाले अतिरञ्जित विवरणहरूको भ्रममा नपर्न नागरिकलाई आग्रह गरेका छन्।
