पहिलो औपचारिक विदेश भ्रमणमा प्रधानमन्त्री शाह आज भारत जाँदै, मोदीसँग सोमबार भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका लागि आज (मंसिर ६ गते) भारत प्रस्थान गर्दैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली जान लागेका हुन्।
प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो औपचारिक विदेश भ्रमण हो। उनी आज दिउँसो १ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको विमानमार्फत दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी भ्रमणमा सहभागी हुनेछन्। नयाँदिल्लीस्थित नेपाली राजदूतावासका अधिकारीसमेत भ्रमण टोलीमा जोडिनेछन्।
भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह भारतीय समयअनुसार दिउँसो ३ः१५ बजे (नेपाली समय ३ः३० बजे) नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा अवतरण गर्नेछन्। उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ।
दिल्ली पुगेकै दिन प्रधानमन्त्री शाहले साँझ ६ बजे भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। ताजमहल होटलमा हुने उक्त भेटमा द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहका उच्चस्तरीय राजनीतिक भेटवार्ता हुनेछन्। बिहान १० बजे राष्ट्रपति भवनमा उनको औपचारिक स्वागत गरिनेछ। त्यसपछि १०ः४० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।
सोमबार बिहान ११ बजे प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा औपचारिक भेटवार्ता गर्नेछन्। दुई प्रधानमन्त्रीबीचको वार्तालाई भ्रमणको मुख्य राजनीतिक तथा कूटनीतिक कार्यक्रमका रूपमा हेरिएको छ।
भेटवार्तापछि दिउँसो १२ः२५ बजे नेपाल र भारतबीच विभिन्न विषयमा समझदारीपत्र (एमओयू) आदानप्रदान गरिनेछ। त्यसलगत्तै दुवै देशका तर्फबाट संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३ः१५ बजे भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यसपछि साँझ ४ः५० बजे उनी प्रतिनिधिमण्डलसहित स्वदेश फर्कने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारत सम्बन्धको आगामी दिशा, द्विपक्षीय आर्थिक सहकार्य र राजनीतिक समझदारीका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। विशेषगरी व्यापार, लगानी, पूर्वाधार विकास, हवाई सम्पर्क तथा दुई देशबीच लामो समयदेखि छलफलमा रहेका विषयमा ठोस सहमति जुट्ने अपेक्षा गरिएको छ।
तर, भ्रमणको वास्तविक उपलब्धि भने औपचारिक भेटघाट र समझदारीपत्र आदानप्रदानमा मात्र सीमित नभई नेपालका प्राथमिकता र राष्ट्रिय हितका विषयमा भारतसँग कति ठोस सहमति हुन्छ भन्नेमा निर्भर रहनेछ।


