काठमाडौ, २६ चैत ।
मुद्दा चल्ने कुनै आधार र प्रमाण नभेटिएपछी बिहिवार रिहा गरिएका एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य अबस्था प्रतिकूल रहेका कारण अझै केही समय अस्पतालमै रहने भएका छन् ।
प्रहरीले स्वास्थ्य परिक्षणका लागि अस्पताल लैजाने क्रममा उनको सुगर, प्रेसर, थाईराईडको समस्यासँगै पित्तथैलीमा पत्थरी पनि देखिएपछि चिकित्सकको निगरानीमा टिचिङ अस्पतालमा नियमित उपचारमा छन् ।
चिकित्सकले पत्थरीको उपचार नगरे समस्या आउने सुझाव दिएका कारण ओली त्यसको अपरेशन सकेर स्वास्थ्य अबस्था ठीक भएपछि मात्र घर फर्कने भएका छन् ।
‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउँदै यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने पार्टीका समग्र नेता–कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।’ ओलीको सचिवालयले सुगर, प्रेसर र थाईराईडको समस्या उपचारको क्रममा सन्तुलनमा आएपछि मात्र पत्थरीको अपरेशनको टुंगो लाग्ने र त्यसपछि मात्र चिकित्सकको परामर्शमा उनी डिस्चार्ज हुने जनाएको छ ।
‘स्वास्थ्य अबस्था सुधारका लागि जे आवश्यक पर्छ, त्यो गर्ने नीति छ, त्यसैले स्वास्थ्यमा सन्तुलन मिलेपछि चिकित्सकहरुको सल्लाहमा आगामी सोमबार, मंगलवार या त्यसपछि पत्थरीको अपरेशन गर्नुहुन्छ र आराम गरेर निवास फर्किनुहुन्छ ।’ सचिवालयले भन्यो ।
