काठमाडौं ३० चैत।
यस वर्षको ‘स्व. गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कार’ पत्रकार शंकर अर्याललाई प्रदान गरिएको छ। लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका अर्याल हाल रातोपाटी डटकममा कार्यरत छन्। करिब १४ वर्षदेखि निरन्तर पत्रकारितामा संलग्न रहँदै आएका उनको योगदानको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो।
नेपाल पत्रकार मञ्चले प्रत्येक वर्ष उत्कृष्ट एक जना पत्रकारलाई छनोट गरी यो पुरस्कार प्रदान गर्दै आएको छ। मध्यान्ह राष्ट्रिय दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा यो पुरस्कार स्थापना गरेकी हुन्। पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ।
यसैगरी, ‘उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार २०८२’ वरिष्ठ सञ्चारकर्मी शिरोमणि दवाडीलाई प्रदान गरिएको छ। तीन दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय दवाडीलाई दीर्घकालीन योगदानको सम्मानस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो।
उक्त पुरस्कारको राशि ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ। यो पुरस्कार मञ्चका पूर्वमहासचिव तथा सल्लाहकार रामप्रसाद पौडेलले स्थापना गरेका हुन्।
