काठमाडौँ, ३० चैत । प्रेस चौतारी नेपाल भित्र यतिखेर चरम विवाद सिर्जना भएको छ। प्रेस चौतारी नेपाल संस्था नवीकरण नभएको, गत वर्ष महाधिवेशन भएको विराटनगरको होटलको पैसा नतिरेको साथै एक वर्षदेखि केन्द्रीय कमिटीको बैठक र संगठनको सचिवालय बैठकसमेत नियमित नभएपछि चौतारीभित्र विवाद सिर्जना भएको हो। प्रेस चौतारीका एकजना केन्द्रीय सदस्यका अनुसार हालसम्म प्रेस चौतारी संस्था जिल्ला प्रशासन मार्फत नवीकरण हुनुपर्नेमा त्यो हुन सकेको छैन।
नवीकरण गर्ने तर्फ अध्यक्ष गणेश पाण्डेले ध्यान नदिएपछि संस्था को आर्थिक गतिविधि समेत नहुने परिस्थिति सिर्जना भएको छ। गत वर्ष अधिवेशनको होटलको पैसा समेत प्रेस चौतारीको केन्द्रीय समितिले तिर्नका लागि कुनै पहल गरेको छैन। अधिवेशनका ताका नोमिनेसन र जिल्लाका निर्वाचनका खर्चसमेत व्यक्तिको क्युआरमा गएको तर काठमाडौँका होटलहरूमा साथै कार्यालयको भाडा र विराटनगरको रकम समेत चौतारीले तिरेको छैन। गत वर्ष वैशाख ११ गते केन्द्रीय समितिको बैठक भए यता एकपटक औपचारिक रूपमा सचिवालय बैठक भएको साथै अनौपचारिक रूपमा भएका बैठकलाई नै माइनट बनाई चौतारी सञ्चालन गर्दै आएको छ।
पार्टीको महाधिवेशन ताका प्रेस चौतारीलाई एकलौटी रुपमा संवाद कार्यक्रम कार्यक्रम गर्न प्रयोग गरिएको विषयमा पनि संगठनभित्र असन्तुष्टि चुलिएको छ। संगठन संगठन जस्तो छैन कुनै सरसल्लाह गतिविधि हुन सकेको छैन। एक केन्द्रीय सदस्यले भने, बेकारमा केन्द्रीय सदस्य भइएछ। यस्तो समितिमा बस्नुभन्दा नबस्ने बेकार छ।
