भक्तपुर, १ वैशाख
भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँवर्षको पहिलोदिन मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । भेलुखेलस्थि ल्यासिंखेलमा वर्षको अन्तिम दिन हिजो साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडाँै, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको, इन्द्रध्वजासहितको लिङ्गो जात्रा हेरे शत्रु नास हुने सहकाल आउने जनविश्वास रहेको छ ।
चैत मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो उठाउने र आज दिनभर भव्य मेला गरी साँझ लिङ्गो ढाल्ने गरिन्छ । यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने शत्रु नाश हुने जनविश्वास रहेको छ । आजै भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे शरीरका सबै रोग नास भई गरेको काम सफल हुने जनविश्वास रहेको स्थानीयवासी एवं संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताए ।
किम्वदन्तीअनुसार सिकारीले मारेको भङ्गेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने जनविश्वास रहेको उहाँले जानकारी दिनुभयो । यही विश्वासले आज यहाँको कुण्डमा स्नान गर्ने बिहान ४ः०० बजेदेखि नै भीड लागेको छ । प्रत्येक वर्ष वैशाख १ गते मनाइने चारखण्डी मेलामा मन्दिर परिसरमा युवाहरुले शरीरमा बत्ती बालेर बसेका छन् । शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवं पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । यस मन्दिरमा बिहान ५ः०० बजेदेखि नै तीनवटा खटसहितको खट जात्रा समेत गरिएको छ । दधिकोटको विभिन्न क्षेत्र परिक्रमा गराई बिहानै ल्याइएको खट पुन मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ ।
यता सिरुटार, बालकोटका बासिन्दाले यहाँको गुप्तेश्वर महादेव मन्दिरमा खट यात्रा गरी बिस्केट जात्रा मनाएका छन् । धिमे बाजाका साथ खटलाई गुप्तेश्वर महादेव मनिदर परिसरमा विधिपूर्वक पूजा गरी सुरु भएको खट जात्रा सिरुटारदेखि बालकोटसम्मको टोल टोलमा घुमाएर पूजा गर्दै जात्रा मनाएको स्थानीय भाइकृष्ण श्रेष्ठले जानकारी दिए। त्यसैगरी दधिकोटको चित्रपुरस्थित छुमा गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रा गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । लामबद्ध भक्तजनले पूजा गरेर खट यात्रा गरि जात्रा मनाएका छन् ।
