काठमाडौ ९ वैशाख ।
गृह मन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलपछि उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका हुन्। आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व देखिएको नहोस् भन्ने उद्देश्यले आफूले पद त्यागेको उनले स्पष्ट पारे।
गुरुङले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठूलो हुने उल्लेख गर्दै, सार्वजनिक जीवनमा पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेको बताएका छन्। उनले केही सञ्चारकर्मीहरूको आर्थिक स्वार्थसम्बन्धी विषय पनि क्रमशः सार्वजनिक हुन सक्ने संकेत गरेका छन्।
‘रामराज्य’को आकांक्षा राख्नेहरूले त्याग र नैतिक साहस देखाउनुपर्ने उल्लेख गर्दै उनले परिवर्तनका लागि सत्य, इमानदारी र आत्मशुद्धिको मार्ग अपनाउन सबै नेपालीलाई आह्वान गरेका छन्।
पछिल्लो समय व्यवसायी दीपक भट्टसँग विभिन्न व्यवसायमा साझेदारी, जेन्जी आन्दोलनपछि ठूलो परिमाणमा सेयर खरिद, तथा फेवाताल आसपासको अतिक्रमित जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरेको जस्ता आरोपहरू सार्वजनिक भएपछि गुरुङमाथि चौतर्फी आलोचना भइरहेको थियो।
