लुम्बिनी, १९ वैशाख ।
लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा रुद्र गणले स्वयंसेवकका रूपमा प्रभावशाली भूमिका निर्वाह गरेको छ।
कार्यक्रमलाई सहज, व्यवस्थित र सफल बनाउन रुद्र गणका सदस्यहरू भीड व्यवस्थापन, आगन्तुकलाई सहजीकरण तथा आवश्यक समन्वयमा निरन्तर खटिएका थिए। ठूलो संख्यामा सहभागीको उपस्थितिका बाबजुद पनि कार्यक्रमलाई व्यवस्थित बनाउन स्वयंसेवक टोलीको भूमिका महत्वपूर्ण रहेको आयोजकले जनाएको छ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस अवसरमा रुद्र गणको सक्रिय सहभागिताले सेवाभाव, अनुशासन र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।

संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ , भन्ने ज्ञानका प्रवत्र्तक गौतम बुद्धको जयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूणिर्माका दिन विश्वभर मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्ध प्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्छन् । वि.सं. २००८ जेठ ८ गते बुद्ध जयन्तीका दिन पहिलो पटक सार्वजनिक बिदा तथा वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्ध जयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत मानिएका गौतम बुद्धको जन्म जयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिईदै आएको छ ।

