काठमाडौं, २० वैशाख । राहदानी विभाग नेपाल र स्पेनस्थित नेपाली राजदूतावास म्याड्रिडको आयोजना तथा एनआरएनए एनसीसी माल्टाको समन्वयमा पाँच दिने राहादानी तथा कन्सुलर घुम्ती शिविर शुक्रवार सम्पन्न भएको छ ।
अप्रिल २८ देखि मे २ सम्म सञ्चालित शिविरमा ५ सय ५० भन्दा बढि नेपालीले प्रत्यक्ष रुपमा सेवा लिएको अध्यक्ष रोशन गिरीले बताए । उनले सेवा संचालनमा सहयोग पु¥याउने सरोकारवाला सबैलाई विज्ञप्तिमार्फत धन्यवाद पनि दिएका छन् ।
‘हामीले पाँच दिने शिविरमार्फत राहदानी नवीकरण, हराएको वा बिग्रिएको राहदानीको सट्टा नयाँ राहदानी, कागजात प्रमाणीकरण, वारेसनामा लगायतका अन्य कन्सुलर सेवाहरू प्रदान ग¥यौं’ गिरीले विज्ञप्तिमार्फत भनेका छन्,‘यस कार्य सम्पन्न गर्न प्रत्यक्ष रुपमा संलग्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभाग र नेपाली राजदूतावास म्याड्रिड (स्पेन) प्रति हार्दिक आभार प्रकट गर्दछौं । साथै, माल्टाका लागि नेपाली मानार्थ वाणिज्यदूत जोनाथन एबेलाज्यूलाई विशेष सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछौं ।’

कन्सुलर सेवा संचालनमा एनआरएनए एनसिसी माल्टाका निवतर्मान अध्यक्षहरु, माल्टास्थित क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका भातृ संगठनहरू र व्यवसायीहरूको पनि उल्लेखनीय सहयोग रहेको महासचिव विरोजंग पाण्डेले बताए । ‘यस पटकको अनुभवका आधारमा हाम्रा सेवाहरूलाई आगामी दिनमा अझ परिष्कृत र व्यवस्थित ढंगले संचालन गर्ने प्रयास गर्नेछौं ।’ पाण्डेले भने ।
पाँच दिनमा ४ सय ६६ भन्दा बढि राहादानी नविकरण, ५० भन्दा बढि वारेसनामा र जन्मदर्ता प्रमाणिकरण भएका छन् । त्यस्तै, म्याद सकिएर बिचल्लीमा परेका ४० भन्दा बढि राहादानी पनि कन्सुलर सेवामार्फत नविकरण भएको छ

कन्सुलर सेवा शिविरमा स्पेनस्थित नेपालका कार्यवाहक राजदूत पूरक अधिकारी, तृतीय सचिव विपिन चन्द तथा नेपालबाट राहादानी विभागका अधिकारी केशवराज पन्थीलगायत सहभागी थिए । त्यसक्रममा एनआरएनएका अध्यक्ष गिरीसहित पदाधिकारीहरुले पछिल्ला वर्षहरुमा रोजगारी र अध्ययनको सिलसिलामा नेपालीहरुको संख्या बढोत्तरी हुँदै गएकाले माल्टामै कन्सुलर सेवाका लागि औपचारिक कार्यालय स्थपना गर्नका लागि ध्यानाकर्षण गराएका थिए ।
रोजगारी र अध्ययनको सिलसिलामा अहिले माल्टामा करिब १० हजार नेपालीहरु रहेका छन् । नेपालीहरुको संख्या बढ्दै गएका कारण पनि माल्टामा कन्सुलर सेवाका लागि कार्यालय खोल्नुपर्ने माग बढ्दै गएको छ ।


