काठमाडौं, ३ जेठ । एमाले निकट पत्रकारको संगठन प्रेस चौतारीका महिला नेताहरुले देशभरबाट राजिनामा दिने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपालभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला एमाले अध्यक्ष केपी ओलीका सामु अध्यक्षमा गणेश पाण्डेलाई राखिराखेमा संगठनमा आबद्ध रहेका देशभरका महिला नेतृहरुले संगठन छाड्ने चेतावनी दिएका हुन् ।
चौतारीका वरिष्ठ उपाध्यक्ष चेतन अधिकारीको अध्यक्षतामा काठमाडौँमा बसेको सचिवालय बैठकले वर्तमान अध्यक्ष गणेश पाण्डे संगठनको नेतृत्व गर्न असफल भएको ठहर गर्दै विशेष महाधिवेशनमा जाने निर्णय गरेसँगै एमाले अध्यक्ष ओलीलाई भेटघाटमा गएको बेला महिला नेतृहरुले आपत्ति जनाएका हुन् ।
जेठ १ गते काठमाडौँको अर्याल होटलमा दिनभरको विवादपछि साँझ सुरु भई राति १२ बजेसम्म चलेको बैठकले अध्यक्ष पाण्डेमाथि विभिन्न आरोप लगाउँदै विशेष महाधिवेशनको बाटो तय गरेको थियो । बैठकले अध्यक्ष पाण्डेले संगठनलाई सन्तुलित र व्यवस्थित गर्न नसकेको, आर्थिक रूपमा धराशायी बनाएको, र नेतृत्वको आडमा सदस्यहरूमाथि अनावश्यक दबाब सिर्जना गरेको ठहर गरेको छ । यसका साथै उनले महिला र आमाप्रति अपमानजनक व्यवहार गरेको भन्दै बैठकले उनको असक्षमता समेटिएका ७ बुँदे आरोप पत्र नै लिपिबद्ध गरेको छ ।
अध्यक्ष पाण्डेले संगठनलाई विधिसम्मत ढंगले चलाउन नसकेको र लामो समयसम्म केन्द्रीय समितिको बैठक समेत नडाकेको निर्णयमा उल्लेख छ। चौतारीका एक सचिवालय सदस्यका अनुसार अब बस्ने सचिवालय र केन्द्रीय समितिको बैठकले विशेष महाधिवेशनको स्वरूप र मिति तय गर्नेछ। साथै विराटनगर लगायतका विभिन्न स्थानमा तिर्न बाँकी रहेको ऋण समेत तिर्न नसकेको बारेमा पनि बैठकले गम्भीर समीक्षा गरेको र निर्वाचन आयोगले उठाएको रकमको हिसाब समेत मागिएको थियो ।
बैठकमा पदाधिकारी हिरामान लामा, हरिवल्लभ नेपाल, प्रदीप आचार्य र विक्रम लुइटेल तथा हाल विदेशमा रहेकी उपाध्यक्ष कृपा भण्डारीले अध्यक्ष पाण्डेको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । बैठकको अध्यक्षता उपाध्यक्ष अधिकारीले गरेका थिए भने सचिव नरेश भण्डारी पाण्डेको पक्षमा उभिएका थिए । अर्का सचिव विष्णु तारुके भने तटस्थ देखिएका थिए । सचिवालय सदस्य प्रकास सिलवाल पनि मझदार उभिएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार संगठनका ९ मध्ये ८ जना प्रदेश इन्चार्ज र अन्य सचिवालय सदस्यहरू अध्यक्ष पाण्डेको विपक्षमा खुलेका थिए ।
चौतारीमा पहिले बैठकको उपस्थिति गराएर पछि अध्यक्षले निर्णय प्रमाणित गर्ने चलन भए पनि यसपटक विवादका कारण उपस्थित १६ जना सचिवालय सदस्य आफैँले निर्णय प्रमाणित गर्ने ठाउँमा हस्ताक्षर गरेका थिए ।
चौतारीभित्र, विवाद सुल्झाउन र आफू अनुकूल निर्णय गराउन अध्यक्ष पाण्डे एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुगेका थिए । तर, उनी त्यहाँ पनि असफल भएका छन्। शनिबार राति एमाले अध्यक्ष ओलीसँग भएको छलफलमा सचिवालय सदस्य प्रतिमा सिलवालले पाण्डेलाई अब अध्यक्ष स्वीकार गर्न नसकिने र दबाब दिए देशभरका महिला पत्रकारहरूले राजीनामा दिने चेतावनी दिएकी थिइन्। चौतारीका सचिव विक्रम लुइटेलले पार्टी सचिव कसरी मन्त्री बनेका थिए भनेर भानुभक्त ढकालको उदाहरण दिदै महिलाहरुको विषय संवेदनशील भएकाले चौतारीका वर्तमान अध्यक्षलाई संयोजक बनाएर महाधिवेशनमा जान नसकसकिने बताएका थिए ।
विवाद सुनेपछि एमाले अध्यक्ष ओलीले बैठक बसेर सर्वसम्मत भइसकेको कुरालाई नै निर्णय मानेर अघि बढ्न सुझाव दिएका थिए। अध्यक्षलाई बाहिर राखेर समस्या समाधान नहुने भन्दै ओलीले विवाद मिलाएर कार्यतालिका बनाई महाधिवेशनमा जान अनुरोध गरे पनि असन्तुष्ट पक्षले पाण्डेलाई आयोजक समितिको संयोजक मानेर महाधिवेशनमा जान नसकिने अडान लिएका छन्। पार्टीसँगको समन्वय र छलफलका लागि एमाले नेताहरू भानुभक्त ढकाल र मीनबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ ।
प्रेस चौतारीका सचिव विक्रम लुइँटेलले संगठनलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए। ‘अब चौतारीमा सबै साथीहरूले निर्धक्कसँग आफ्ना कुरा राख्न सक्ने वातावरण बनेको छ, कोही पनि थिचोमिचोमा पर्नु पर्दैन, सचिव लुइँटेलले भने, ‘संस्थागत ढंगले चौतारीलाई अगाडि बढाउने सुखद सुरुवात भएको छ ।’
