काठमाडौं, ९ जेठ । एमालेभित्र निरन्तर रुपमान्तरणको पक्षमा उभिएका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा उनले ओलीसमक्ष राजीनामा माग गरेका हुन् । ‘अब तपाईंबाट पार्टी चल्दैन । राजीनामा दिनुस्,’ भट्टराईले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।
यसअघि हिजो बसेको सचिवालय बैठकमा ४ जना उपाध्यक्षले पनि ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । तर ओलीले बैठकको पहिलो दिनमै योगेश भट्टराईलाई लक्षित गर्दै राजिनामा माग्ने नेताहरुलाई कारवाही गर्ने चेतावनी दिएका थिए । शनिवार महासचिव शंकर पोखरेलले पनि पार्टीमा समीक्षा जरुरी रहेको बताउँदै अहिलेकै परिस्थितिमा अघि बढ्न नसक्ने बताएका थिए । उनले भने ‘राजीनामा दिनुस्’ भनेर नभनेपछि घुमाउरो शैलीमा अहिलेको परिस्थितिबाट अघि बढ्न नसकिने बताएका थिए । एमाले सचिवालय बैठक अहिले योगेश भट्टराइको विचार पथमा अघि बढिरहेको छ । उनले शुरुबाटै उठाएका विषयवस्तुमाथि शुक्रबारबाट बहुमत सचिवालय सदस्यहरुले उठाइरहेका छन् । भट्टराईले जेनजी विद्रोहपछि निरन्तर ओलीको राजिनामा माग्दै आएका छन् ।
