नेकपा एमालेका तमाम समर्थक शुभेच्छुक र सदस्यहरुमा
हार्दिक अभिवादन !
नेपालमा हुँदा मैले देखेको बुझेको नेकपा एमाले परम्परागत कम्युनिष्ट धङधङ्गी र जडताबाट मुक्त भएर जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको वहुदलीय जनवादको सिद्धान्त अबलम्बन गर्दै अगाडी बढेको जनताको पार्टी थियो । एमालेका नेता कार्यकर्ता र शुभेच्छुक भन्ने बित्तिकै समाजमा सबैभन्दा इमान्दार , स्वच्छ छवि भएका , सदैव उच्च स्तरको चरित्रमा बसेका , सुसंस्कारी र नम्रता अनि भद्रतामा पर्याय भनेर चिनिथ्यो ।
मदन भण्डारीले वहुदलीय जनवाद मार्फत संवैधानिक सर्वोच्चता सहितको कानुनी राज भएको वहुदलीय प्रतिष्पर्धामा विश्वास गर्ने पार्टी बनाए पछिको लामो कालखण्डसम्म एमाले जे थियो त्यही रह्यो । नेपाल देश र एमाले पार्टीकै दुर्भाग्य हो कि एमालेलाइ सशक्त र लोकप्रिय बनाउन अहम भूमिका खेल्ने मदन भण्डारी स्वयम चाहिं एक रहस्यमयी घटनामा मारिनु भयो तर पनि एमालेको छविलाइ जोगाउँदै अगाडी बढाउने काम एमालेका नेता कार्यकर्ताले लामो समयसम्म गर्नु भएकै थियो । त्यसको लागि नेकपा एमालेका तमाम नेता कार्यकर्ताहरु धन्यवादको पात्र हुनुहुन्छ ।
एमालेको त्यही सकारात्मकताको जगमा विस्तारै आफुलाई सडकबाट संसद र संसदको माध्यमबाट सत्तामा पुर्यायो । प्रतिष्पर्धामा उत्कृष्ट भएर सत्तामा पुग्नु त राम्रो थियो , सुरु सुरुमा सत्तामा पुगेर एमाले बदनामी कमाएर हैन सम्मान र लोकप्रियता आर्जन गर्न सफल नै भएको थियो भन्ने जति यहाँहरुलाइ थाहा छ त्यति नै यो पनि थाहा छ कि सट्टा यात्राहरुको क्रम बढदै जाँदा एमालेमै असली एमालेहरु कमजोर बन्ने स्थिति बन्यो ।
जब एमालेभित्र नै असली एमाले कमजोर बन्ने अनि दलाल विचौलिया देखि अनेकन स्वार्थका झुण्डहरु बलियो बन्न थाले तब एमाले बिग्रेर ‘बामाले’बन्यो । त्यसो हुँदै गर्दा सम्म त अध्यक्षलाइ कमरेड भन्न छोडेर ‘बा’ भन्ने देखि ‘आइ लभ यू बा’ भन्दै सुसेली फुक्न नै थालियो । त्यसो गर्नु गलत हो भन्ने कतिपय असली एमालेलाइ एमाले छोडन बाध्य पारियो भने कतिपयलाइ भित्रनै अपमानित गराइयो । यति हुनेबेला सम्म देशमा एमाले सहित अन्य मुलधारका पार्टीहरुलाइ सिध्याउन तम्सिएका वा उक्साईएकाहरु तयार भैसकेकै थिए । त्यस्तैमा नेपाल राष्ट्रलाइ भ्रष्टचार रहित देश बनाउन पर्छ भन्दै शान्तिपूर्ण प्रदर्शन गर्न आएका जेनजी युवाहरुको प्रदर्शनलाइ पानी बाँडनेहरुलाइ उचालेर आन्दोलनकारी बनाइदिए पछि उत्पन्न परिस्थितिले जे जसरि दर्जनौं युवाहरुको हताहती र राष्ट्र दोहनको अवस्था बन्यो , त्यसपछि त एमाले इतिहासमै सबै भन्दा रक्षात्मक बन्न बाध्य भयो ।
स्वच्छता , सरलता, सदाचारिता , इमान्दारिता , चारित्रिक शुद्धता सहितको जनपक्षधरतालाइ आफ्नो जीवन बनाउनेहरुले बनाएको नेकपा एमाले क्रमशः बिग्रेरर ‘बामाले’भएको अवस्थाबाट एमाले बन्ने अवस्थाको शुरुवात हुनु आफैंमा सकारात्मक कुरा हो तर त्यसो हुँदै गर्दाको अवस्थामा सम्पूर्ण एमालेजनहरुलले बुझ्नु पर्छ कि अवसरवादीको लागि पुनर्गठन हैन एमालेको हितमा हस्तान्तरण सहित पुनरजागरण चाहिं अहिलेको आवश्यकता हो ।
यो यथार्थ हो कि एमाले बिग्रंदै बनेको बामाले लगायत अन्य मुलधारका दलहरुले प्रदर्शन गरेको नालायकी र त्यसको जगमा भएको कुशासनले गर्दा आम जनतामा पैदा भएको वितृष्णा नै भाद्र २३ को प्रदर्शनको आवश्यकताको मुख्य कारक हो । यो अलग कुरा हो कि दलीय कमजोरी र त्यसको विरोधमा भएको जेन जी प्रदर्शनको बीचबाट अरु नै कोही उदाए । त्यसैले त न आज जेनजी हरु सत्तामा छन् न त मुलधारका दलहरुले सुध्रिएर आउँछु भन्दा नै मौका पाएका छन । तर त्यति धेरै प्रतिकुलताको वावजुद एमालेको निम्ती एउटा राम्रो भएको छ त्यो भनेको अव ‘बामाले’अस्तित्वहिन भएर एमाले फर्कन खोज्दै छ ।
स्वच्छता , सरलता, सदाचारिता , इमान्दारिता , चारित्रिक शुद्धता सहितको जनपक्षधरतालाइ आफ्नो जीवन बनाउनेहरुले बनाएको नेकपा एमाले क्रमशः बिग्रेरर ‘बामाले’भएको अवस्थाबाट एमाले बन्ने अवस्थाको शुरुवात हुनु आफैंमा सकारात्मक कुरा हो तर त्यसो हुँदै गर्दाको अवस्थामा सम्पूर्ण एमालेजनहरुलले बुझ्नु पर्छ कि अवसरवादीको लागि पुनर्गठन हैन एमालेको हितमा हस्तान्तरण सहित पुनरजागरण चाहिं अहिलेको आवश्यकता हो ।
त्यसैले एमालेजनहरु त्यसमा असली एमालेहरु हो यति बुझ्नु कि एमालेमा हाल हुनुपर्ने भनेको नेतृत्व सल्लाह , सहमति र सहकार्यको प्रतिवद्धता सहित हस्तान्तरण हो । त्यस पार्टीका केहि बदनाम ( चलखेल मार्फत आर्जित जग्गा फिर्ता दिएर रफा दफा गर्न पाइन्छ भन्ने वालाहरु जस्ता क्या ) हरुको जोडवलमा कहीं असल इमान्दारहरु भावनामा बगिहाल्नु चाहिं हुन्न । हो अब श्रद्धय केपी ओलीले कार्यकारी नेतृत्व त्याग्नुपर्छ र अभिभावकीय भूमिकामा रहेर चुनातीलाइ सम्भावनामा बदल्न आउने नेतृत्वलाइ सहयोग गर्नुपर्छ ।
बाहिर र भित्र दुवै तर्फ बाट भिडाउनको लागि गरिएको खेल अनि आफ्नै सदस्यता सक्रिय बन्न नदिने झेलले पनि विचलित पार्न नसकेको विद्या भण्डारीको सदस्यतालाइ पार्टी अध्यक्ष स्वयंले सक्रिय बनाउने प्रस्ताव गर्नु भएर त्यो पास पनि भैसकेको अवस्थामा कथित पुस्तान्तरण ( मौकामा चौका हान्न खोज्ने देखि अर्काले छोडदा मात्रै नेता बन्न सकिन्छ भन्ने ठान्ने लाछीहरुले भन्ने ) देखि आफ्नो स्वार्थ र लालचले गर्दा गरेका कामहरुले एमालेलाइ कम्जोर अनि त्यसको नेता केपी ओलीलाई बदनाम बनाउन अहम भूमिका खेलेकाहरुले आफ्नो फाइदाको लागि भन्ने पुनर्गठनको आवश्यक र उचित दुवै छैन ।
एमाले साँचो अर्थमा अगाडी बढने हो भने नेतृत्व हस्तान्तरण गर्दै विद्या भण्डारीलाइ नेतृत्व , उहाँको नेतृत्वलाइ केपी ओली सहित अन्य बेदागहरुको अभिभावकीय सल्लाह र मार्ग निर्देशन, शंकर पोखरेल सहित विगतका आफ्नै दलका कामहरुको प्रति निर्मम आत्मालोचना र वर्तमानको यथार्थको गम्भीर विश्लेषण गर्दै सच्चिन सुध्रिन पर्ने ठाउँमा त्यसो गर्ने तर कोहि कसैको नियोजित प्रहार नसहने इमान्दारहरुको पंक्ति समेत बाट विद्या भण्डारीसंग सहकार्य गर्ने काम गर्नु पर्छ ।
आफैं समेत सहभागी भएर गरेका निर्णयहरुको परिणाम गलत आयो भने त्यसप्रति आत्माआलोचित्त हुनुको साटो उल्टो अर्काको टाउकोमा दोष थोपर्ने र आफुले नया अवसर खोज्ने काम चाहिं एमाले बनाउने हैन सिध्याउने कुरो हो । आफु बन्न हैन एमाले बनाउन खोज्नेले पुनर्गठन हैन हस्तान्तरणको वातावरण निर्माण मार्फत विद्या भण्डारीको नेतृत्वमा पुनरजागरणको बाटोतर्फ लाग्नुपर्छ ।
नोटः सबैभन्दा पहिला यो प्रष्ट पारौं कि म एमाले हैन र हुने सम्भावना पनि छैन । यो सन्देश प्रेषित गर्दै गर्दा मेरो कुनै निजि स्वार्थ छैन ।
–अमेरिका निवासी लेखक नेपालको राजनीति र सुरक्षा मामिलामा चासो राख्छन ।
