काठमाडौं, १३ जेठ । नेकपा एमाले संसदीय दलकी उपनेता पद्यमा अर्यालले जलवायू परिवर्तन न्यूनिकरणका लागि स्थानीय तहबाटै विशेष अभियान संचालन गर्नुपर्ने बताएकी छिन् ।
संसदमा वुधबार सम्बोधन गर्दै उपनेता अर्यालले त्यस्तो अभियान आवश्यक रहेको औंल्याएर सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।
अर्यालको सम्बोधनको अंश :
नेपाल न्युन कार्वन उत्सर्जन गरेर पनि जलवायु परिवर्तनको उच्च जोखिमा रहेको छ ।
मौसमको चक्र बिग्रिएको छ, बर्षामा फेरबदल आएको छ। वर्षेनी गर्मीका ताता दिन झन–झन् ताता हुँदै गएका छन्, हिउंदका चिसा रात झन्–झन् चिसा हुदै गएका छन् ।
निकट ५ बर्षको अन्तरालमै हामीले मेलम्ची, मनाङ्ग–मुस्ताङ्ग, एवं लाङ्गटाङ्गको केरुङ्ग क्षेत्रमा अप्रत्याशित बाढी पहिरो देख्यौं । हिउँ ताल फुट्नाले थामे गाउँमा निम्तिएको विध्वंश समेत यहि समयको हो । यी सबै घटनाहरु जलवायु परिवर्तनको भयानक स्वरुपका संकेत हुन ।
जलवायु परिवर्तनका यी संकेतलाई सम्वोधन गर्न आजका दिनमै पर्याप्त र उपयुक्त कदम चालिएन भने निकट भविष्यमा नै थुप्रै जनताले थात थालो छाडेर अन्यन्त्र बसाई सर्न बाध्य हुने प्रक्षेपण अध्ययनहरुले देखाएका छन् । यसरी जलवायु परिवर्तन आजको समयमा एउटा प्रमुख मानवीय संकटका रुपमा देखा परेको छ ।
यसरी जलवायु परिवर्तनको न्यूनीकरण एवं अनुकुलनका निम्ति राज्यले स्थानीय तहदेखी समुदायसम्म सामुहिक सहभागितामा आधारित बिशेष अभियान÷कार्यक्रम संचालन गर्ने तर्फ यथासिघ्र प्रभावकारी कदम चाल्न जरुरी छ । यस साझा समस्या निराकरण तर्फ सामुहिक पहलकदमी लिनका निम्ति सबै राजनितिक दल तथा सरोकारवाला व्यक्तिले स्वामित्व लिन सक्ने संयन्त्र गठन गर्ने तर्फ सभामुख महोदय मार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराउन चहान्छु ।
