संसदमा देशको लागि आवश्यक कानूनहरु निर्माणको बारेमा झिनो बहस पनि सुनिन्दैन ।
सांसदहरुले संसदमा समस्याहरुको बारेमा बोलेको सुनिन्छ तर ति समस्याहरुको एकमुस्ट समाधान गर्न सक्ने नीति र कानूनहरु निर्माण गर्न निरन्तर आवाज उठाएको सुनिन्दैन र सहकार्य गरेको देखिन्दैन ।
हिजोका दिनहरुमा अधिकांश सांसदहरुले संसदमा समस्याहरु उठाए तर संविधानले सुनिश्चित गरेका मौलिक हकहरु लगायत अन्य हक तथा अधिकारहरुको कार्यान्वयनको लागि कानून बनाउन चासो र तत्परता देखाएनन् र सहकार्य गरेनन् । आजका अधिकांश सांसदहरुले पनि त्यही दोहोर्याउदै छन् । हिजोका अधिकांश सांसदहरुले जे जे गल्तीहरु गरे, आजका अधिकांश सांसदहरुले पनि त्यही त्यही गल्तीहरु दोहोर्याउदै छन्। संघको संसदका अधिकांश सांसदहरुले जे गल्ती गर्दैछन् , प्रदेश सभाका अधिकांश सांसदहरुले पनि त्यही गल्ती दोहोर्याउदै छन् । किन?
सानो सानो समस्याहरुमा अल्मलिएर र पुर्वाग्रही विवादहरुमा अल्झिएर सांसदहरुले संसदबाट कानून बनाउने र सहकार्य गर्ने महत्वपुर्ण कार्यलाई कहिलेसम्म पन्छ्याई रहने हो र कहिले सम्म विश्राम दिई रहने हो ?
किन संसदबाट कानूनहरु बन्न लामो समय लाग्छ वा चाहिएको जरूरी कानूनहरु नै आवश्यक समायावधि भित्र बन्दैनन् ?
किन नेपालको संविधानले सुनिश्चित गरेको मौलिक हक लगायत अन्य हक तथा अधिकारहरु कार्यान्वयन गर्ने कानूनहरु संसदबाट अहिलेसम्म बन्न सकेका छैनन् ? जबकि नेपालको संविधान सभाबाट संविधान जारी भएको दश वर्ष भन्दा बढी नै भई सक्यो ।
नेपालको संविधानलाई कार्यान्वयन गर्ने र गराउने कार्यका लागि कानूनहरु तत्काल निर्माण गर्न किन सांसदहरु तत्पर देखिन्दैनन् ?
नेपालको संविधानमा लेखिएका मौलिक हक लगायतका हक तथा अधिकारहरुको कार्यान्वयन गर्न कानूनहरु बनाउने कार्यमा संसद र सांसदहरु व्यस्त देखिन्दैनन्।
सांसदहरुले आफ्नो मुख्य कार्यभार भन्दा बाहिरको विषयहरुको बारेमा गन्थन मन्थन गरेर आफ्नो महत्वपुर्ण समय खेर फालिरहेका छन् र असमन्जसमा परेर उदासीन जस्तो देखिन्छन् ।
संसदको गरिमा राख्ने र बढाउने कार्य गर्ने दायित्व र कर्तव्य सांसदहरुको नै हो ।
संसद र सांसदहरुको प्रमुख काम, कर्तव्य र अधिकार अति आवश्यक परेमा संवैधानिक प्रक्रियाबाट संविधानको संशोधन गर्नु र कानूनहरु निर्माण गर्नु नै हो ।
तर, नेपालको वर्तमान संविधान जारी भएको पनि दश बर्ष भई सक्यो । यो समयावधिमा धेरै मानिसहरु सांसद भए । सांसदको काम, कर्तव्य, अधिकार र भूमिकाको बारेमा कतिपय सांसदहरु नै अनभिज्ञ जस्ता देखिए । मुद्दा र विषयहरुको प्राथमिकता छुट्याउने विषयमा दुबिधामा परेको देखियो ।
तर संसदमा कानून निर्माण गर्ने क्रममा गम्भीर बहसहरु भएका उदाहरणहरु नै करीब करीब छैनन् भन्दा पनि हुन्छ ।
के संसद सांसदहरुले कुनै विषय वा मुद्दा वा बहसमा केवल पक्ष वा विपक्षमा समर्थन वा विरोध गर्ने थलो मात्रै हो र ?
के संसद सरकारको काम कारवाहीको सम्बन्धमा चर्चा गर्ने स्थल मात्रै हो र ?
के संसद विकास निर्माणका र तत्काल समस्याहरुको बारेमा समय खर्चिने ठाउं मात्रै हो र ?
के संसदले संविधानले सुनिश्चित गरेका मौलिक हक अधिकार लगायत प्राकृतिक र आर्थिक स्रोतहरुको बांडफांड सम्बन्धी कानूनहरु निर्माण गर्न गम्भीर भएर कार्य गर्नु पर्दैन र ?
के सांसदहरुले कानूनहरु तत्काल निर्माण गरेर संविधानले सुनिश्चित गरेका हक तथा अधिकारहरु जनतालाई दिलाउनु पर्दैन र ?
संसदले कानून निर्माण गर्ने कार्यको प्रगति किन निराशाजनक छ ? नेपालमा संसदबाट कानूनहरु निर्माण गर्न बर्षौं लाग्ने गरेको तथ्यहरुबाट स्पष्ट हुन्छ ।
यसैले नेपालको संविधानमा संशोधन गरेर संसदमा प्रस्तुत भएको विधेयकलाई २८ दिन भित्र अनिवार्यरुपमा संसदबाट पास वा फेल गराउनु पर्ने कडा र प्रष्ट कानून बनाउनु आवश्यक छ । सांसदहरुले यस विषयमा गम्भीरतापुर्वक बहस र निर्णय गर्नु पर्दछ ।
कानून निर्माण गर्ने कार्यमा सांसदले आफ्नो जिम्मेवारी र दायित्व किन निर्वाह गरिरहेका छैनन् ?
के सांसदहरुको यस्ता गतिबिधिले संसदको प्रतिष्ठालाई अझ कमजोर बनाउदैन र ?
सांसदहरु तिनीहरु स्वयंको अस्त्र पनि हुन् र स्वयंको कवच पनि । सांसदहरुसंग व्यवस्थापिकाको अधिकार रहेको हुन्छ ।
यसैले विगतको जस्तै नियमित काम कारबाहीमा अल्झिने हो भने अहिलेको संसद र सांसदसंग कुनै पनि विशेष कार्यको अपेक्षा गर्न सकिन्दैन ।
तर, वास्तवमै संसद र सांसदहरुले चाहने हो र दिनरात नभनी दत्तचित्त भएर मेहनतपुर्वक काम गर्ने हो भने अहिले सम्म नबनेका कानूनहरु एक बर्ष भित्रमा संसदबाट बनाउन सकिन्छ र भविष्यको लागि अवश्यक कानूनहरु पनि पांच वर्ष भित्रमा निर्माण गर्न सकिन्छ ।
अहिलेको संसद र सांसदहरुले आम नेपालीलाई कस्तो चिनारी दिने हो, यसको गहन जवाफ संसद भित्र सांसदहरुले निर्वाह गर्ने भूमिकामा नै लुकेको छ ।
संसदको गरिमा सांसदहरुको नैतिकता, इमानदारिता, सत्यनिष्ठा, गतिविधि, क्रियाकलाप, सक्रियता, समझदारी, समन्वय र भूमिकामा निर्भर गर्दछ ।
(लेखक काङ्रेस नेता हुन ।)
