काठमाडौं, २९ असोज । भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबीच फोनमा के कुरा हुन्छ भन्ने प्रश्न पछिल्ला घटनाक्रमले जन्माएको छ । एक साताअघि अमेरिकी राष्ट्रपति ट्रम्प र उनका रुसी समकक्षी पुटिनबीच भएको फोनवार्ता साइबेरियामा फैलिन सक्ने प्लेग महामारीबारे स्पष्टिकरणमा केन्द्रित हुने अपेक्षा गरिएको थियो ।
तर, त्यसको सट्टा रुसी डिजेल खरिदसम्बन्धी विवादास्पद सम्झौता सार्वजनिक भयो, जसले युक्रेनमा आक्रोश बढाएको छ । त्यसलगत्तै ट्रम्पले युक्रेनमा नयाँ राष्ट्रपति निर्वाचित गर्नुपर्ने माग गरे ।
अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता र गुप्तचर सूचना रोक्न सक्ने आशंका युरोपमा फैलिएको थियो । पछिल्ला ४८ घण्टाका घटनाक्रमले ती आशंकालाई थप बल दिएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणबारे अमेरिकाबाट प्राप्त हुने नियमित पूर्वसूचना यसपटक नपाएको बताएका छन् । अमेरिकी उपग्रह र अन्य प्रविधिले रुसी क्षेप्यास्त्र प्रक्षेपणको पूर्वसूचना उपलब्ध गराउँदै आएका छन् । यसबाट युक्रेनी नागरिकलाई क्षेप्यास्त्र खस्नुअघि सुरक्षित आश्रयस्थलमा पुग्न केही महत्वपूर्ण समय मिल्छ ।

तर, पछिल्लो आक्रमणमा ३९ वटा क्षेप्यास्त्र प्रहार भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । ट्रम्पले भने मंगलबार अमेरिकाले युक्रेनसँग गुप्तचर सूचना आदानप्रदान गरिरहेको स्पष्ट पारे । उनले भने, “हामी उनीहरूलाई सहयोग गरिरहेका छौँ । गुप्तचर सूचना साझा गरिरहेका छौँ ।”
यद्यपि, सूचना आदानप्रदानको मात्रा घटाइएको वा वास्तविक समयमा सूचना उपलब्ध नगराइएको सम्भावनालाई यसले पूर्ण रूपमा खारेज गरेको छैन ।
रुसी आक्रमणमा सर्वसाधारणको मृत्यु बढ्दै जाँदा र नागरिक पूर्वाधारलाई निशाना बनाउने क्रम तीव्र भइरहँदा पूर्वसूचनामा आएको भनिएको अवरोधले थप जनधनको क्षति निम्त्याउन सक्नेछ । तर, जेलेन्स्कीको भनाइका अन्य सम्भावित कारण पनि हुन सक्ने बताइएको छ ।
पूर्वसूचना रणनीतिक रूपमा सार्वजनिक नगरिएको वा खराब मौसम र प्राविधिक समस्याका कारण सूचना प्राप्त नभएको हुन सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन ।
स्टारलिंकमा प्रतिबन्धले युक्रेनी सैन्य अभियान प्रभावित
बुधबार युक्रेनले अर्को चुनौती सामना गर्नुपरेको छ । एलन मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालित स्टारलिंक भूउपग्रह इन्टरनेट सेवाको गतीमा लगाइएको सीमाले युक्रेनी सैन्य ड्रोन अभियान प्रभावित भएको छ । स्टारलिंकले युक्रेनी सेनालाई मध्यम तथा लामो दूरीका ड्रोन सञ्चालन गर्न र रुसी ड्रोनको प्रतिकार गर्न सहयोग गर्दै आएको छ ।
युक्रेनका पूर्वरक्षामन्त्री मिखाइलो फेदोरोभले मस्कसँगको सहमतिपछि प्राप्त अतिरिक्त क्षमतामा लगाइएको प्रतिबन्धलाई सैन्य अभियानका लागि ठूलो धक्काका रूपमा लिएका छन् । यद्यपि, यो प्रतिबन्ध गत वर्ष रुसभित्र स्टारलिंक सेवा बन्द गरिँदा रुसी सैन्य अभियानमा परेको असरजत्तिकै व्यापक नभएको बताइएको छ ।
युक्रेनी अधिकारीहरूले यस्तो प्रतिबन्ध अमेरिकी प्रशासनको जानकारी वा निर्देशनबिना सम्भव नहुने आशंका गरेका छन् । तर, वासिङ्टनको प्रत्यक्ष संलग्नता पुष्टि भएको छैन ।
यसअघि नै युरोपेली र युक्रेनी अधिकारीहरूले किभले रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राखे अमेरिकाले गुप्तचर सूचना र अन्य सहयोग रोक्न सक्ने चेतावनी दिएको बताएका थिए । ट्रम्पले विश्वव्यापी तेल बजारको संकटमा होर्मुज जलमार्गको भूमिकालाई बेवास्ता गर्दै युक्रेनले रुसी तेल पूर्वाधारमा गरेको आक्रमणका कारण अमेरिकामा पेट्रोलको मूल्य बढेको दाबी गरेका छन् ।
स्टारलिंक सेवामा आएको अवरोध र क्षेप्यास्त्र आक्रमणको पूर्वसूचना नपाएको युक्रेनी दाबीले अमेरिकी दबाब व्यवहारमा लागु हुन थालेको आशंका बढाएको बताइएको छ ।
ट्रम्पले भने युक्रेनसँग गुप्तचर सूचना आदानप्रदान रोकिएको अस्वीकार गरेका छन् । तर, पुटिनसँगको वार्तापछि उनको अडानमा आएको परिवर्तनले युक्रेन र उसका युरोपेली सहयोगीलाई चिन्तित बनाएको बताइएको छ ।
युक्रेनलाई आफ्नै प्याट्रियट क्षेप्यास्त्र प्रणाली निर्माण गर्न दिने प्रस्तावबाट पछि हट्नु र शान्ति प्रक्रियाको मुख्य बाधक जेलेन्स्की रहेको बताउनु यसका उदाहरण हुन् । जेलेन्स्कीले भने एक वर्षभन्दा बढी समयदेखि तत्काल युद्धविरामको माग गर्दै आएका छन् ।
ट्रम्पले घोषणा गरेको ‘ऊर्जा युद्धविराम’कै बीच पुटिनले युक्रेनी ऊर्जा पूर्वाधारमा आक्रमण जारी राखेका छन् । यसबाहेक, रुसी एजेन्टहरूले अमेरिकामा एक असन्तुष्टको हत्या गर्ने षड्यन्त्र रचेको आरोप र युक्रेनमा अमेरिकी व्यवसायहरू प्रभावित भइरहेको विषयले पनि ट्रम्पको अडानमा खासै परिवर्तन ल्याएको नदेखिँने बताइएको छ ।
कतिपय अवस्थामा ट्रम्प युक्रेनको स्थिति कमजोर बनाउने दिशामा अघि बढिरहेको बिश्लेषण गरिएको छ । तर, पुटिनसँगको वार्ताले उनको विश्वदृष्टिकोणमा किन यति ठूलो परिवर्तन ल्याउँछ भन्ने प्रश्नको जवाफ अझै स्पष्ट नभएको बताइएको छ ।
पुटिनलाई फाइदा पुग्ने निर्णयले युरोपमा चिन्ता
रियल इस्टेट व्यवसायीका रूपमा ट्रम्पले आफ्ना सहायक ठेकेदारको भूमिकामा रहेको युक्रेनलाई दबाब दिएर सम्झौता टुंग्याउन खोजेको तर्क गर्न सकिने कतिपयको आशंका छ । यस दृष्टिकोणमा पुटिन अन्तिम ग्राहक हुन्, जसलाई ट्रम्पले युद्ध अन्त्य गर्ने सम्झौताको मुख्य निर्णायक ठानेका छन् ।
तर, युक्रेनमाथि दबाब बढाउने समय र त्यसबाट प्राप्त हुने लाभबीच स्पष्ट सम्बन्ध नदेखिने बताइएको छ । विश्लेषकहरूका अनुसार रुसी डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने निर्णयले अमेरिकी मध्यावधि निर्वाचनअघि इन्धनको मूल्य उल्लेख्य रूपमा घटाउने सम्भावना कम छ । यसको विपरीत, यसले रुसी सरकारलाई थप आम्दानी उपलब्ध गराउन सक्ने बताइएको छ ।
जेलेन्स्की र उनका युरोपेली सहयोगीहरूले ट्रम्पको बदलिँदो अडान पटकपटक देखिसकेका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनसँगको संवाद, नेटो महासचिव मार्क रुटेसँगको वार्ता वा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको भ्रमणपछि ट्रम्प आफ्नो अघिल्लो अडानमा फर्किन सक्ने सम्भावना पनि रहेको बताइएको छ । बुधबार लन्डन पुगेका जेलेन्स्कीले त्यहाँका नेताहरूसँग यस विषयमा छलफल गरेको हुन सक्ने अनुमान गरिएको छ ।
तर, रुसप्रति ट्रम्पको निरन्तर सहानुभूति अहिले पनि एउटा ठूलो प्रश्न बनेको उल्लेख छ । आलोचकहरूका अनुसार उनको नीतिले शान्ति सम्झौताको सम्भावना कमजोर पार्नुका साथै अमेरिकाको दीर्घकालीन सुरक्षा हितलाई समेत जोखिममा पार्न सक्छ । यसले इरानलाई सहयोग पुर्याउँदै आएको रुसको भूमिकालाई पनि ओझेलमा पार्ने उनीहरूको तर्क छ ।
ट्रम्प र पुटिन दुवैका लागि जोखिम
वर्तमान रणनीतिले ट्रम्प र पुटिन दुवैलाई जोखिममा पार्न सक्ने बताइएको छ । पहिलो, ट्रम्पले युरोपेली सहयोगीहरूसँगको सम्बन्ध बिगार्न सक्छन् । अमेरिकी मध्यावधि निर्वाचनपछि बाँकी रहने १८ महिनासम्म उनीहरूले वासिङ्टनलाई बेवास्ता गरे भने त्यसको असर ट्रम्पलाई पर्नेछ । त्यसो भए मध्यपूर्वमा फैलिरहेको अर्को जटिल द्वन्द्वको सामना गर्न ट्रम्पलाई झन् कठिन हुनसक्छ ।
पुटिनका लागि पनि जोखिम कम छैन । अमेरिका बिना नै अघि बढ्नुपर्ने बाध्यताले युरोप र युक्रेनलाई आफ्नो आत्मनिर्भरता बढाउन, नयाँ रणनीति अपनाउन र रक्षा बजेट विस्तार गर्न प्रेरित गर्न सक्छ ।
मस्कोले युरोपलाई जति बढी उक्साउँछ, युरोप त्यति नै बढी सैन्य रूपमा सक्षम बन्न सक्छ । दीर्घकालमा यसले रुसी सुरक्षासामु ठूलो चुनौती खडा गर्ने बताइएको छ ।
युक्रेनले युद्धका क्रममा असाधारण सिर्जनशीलता र क्षमता प्रदर्शन गरेको छ । त्यो क्षमता हराउने सम्भावना कम छ । यसले आगामी वर्षहरूमा युद्धको स्वरूप परिवर्तन गर्न सक्ने बताइएको छ ।
अर्कोतर्फ, रुसको क्षति सहने क्षमता पनि ठूलो छ । तर, उसको सहनशीलता कहिले टुट्छ भन्ने अनुमान गर्न कठिन छ । सन् २०२३ मा वाग्नर भाडाका सैनिक समूहले गरेको विद्रोहले रुसी व्यवस्थाभित्र अचानक संकट उत्पन्न हुन सक्ने देखाएको थियो ।
तत्कालका लागि भने यो रणनीतिको सबैभन्दा ठूलो मूल्य युक्रेनले चुकाइरहेको छ । हरेक रातका आक्रमणमा सर्वसाधारण, महिला र बालबालिकाले ज्यान गुमाइरहेका छन् । युक्रेनको सैन्य सहायता भने विश्वका दुई शक्तिशाली नेताबीचको रहस्यमयी सम्बन्ध र बदलिँदो राजनीतिक समीकरणको चपेटामा परेको छ । सीएनएन

