काठमाडौं, २८ असोज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनमा परम्परागत ‘नेताको तजबिज र कोठाभित्रको टिकट वितरण’ अन्त्य गर्ने दाबीसहित ‘उम्मेदवार छनोट रूपरेखा’ सार्वजनिक गरेको छ ।
रास्वपा केन्द्रीय समितिबाट पारित रूपरेखाअनुसार अब पार्टीबाट पालिका प्रमुख/उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार बन्न चारवटा कडा चरण पार गर्नुपर्नेछ । जसमा पार्टीभित्रको प्रारम्भिक निर्वाचन (प्राइमरी), लिडरसिप एकेडेमीको अनिवार्य परीक्षा, राजनीतिक-सामाजिक धरातलको मूल्याङ्कन र समावेशितालाई मुख्य आधार बनाइएको छ ।
चार खण्डमा १०० पूर्णाङ्कको मूल्याङ्कन
उम्मेदवार बन्न चाहने आकांक्षीहरूले पाउने टिकट १०० पूर्णाङ्कको समग्र मूल्याङ्कनका आधारमा तय हुने जनाइएको छ । जसलाई यसरी विभाजन गरिएको छ ।
१. प्रारम्भिक निर्वाचन (प्राइमरी) : ४० प्रतिशत
२. लिडरसिप एकेडेमी (तालिम तथा परीक्षा) : २५ प्रतिशत
३. पोलिटिकल प्रोक्सिमिटी (संगठन र लोकप्रियता) : २५ प्रतिशत
४. समावेशिता (सिमान्तकृत तथा विविधता) : १० प्रतिशत
पार्टीका सदस्यहरूले उम्मेदवार छान्न पाउने प्रारम्भिक निर्वाचन लाई ४० प्रतिशत भार दिइएको छ। जसमा पार्टीको मोबाइल एपमार्फत ‘टु-फ्याक्टर अथेन्टिकेसन’ (OTP) प्रयोग गरी डिजिटल मतदान हुनेछ ।
यदि कुनै पनि उम्मेदवार चित्त नबुझे सदस्यहरूले ‘नोटा’ (माथिका कुनै पनि उम्मेदवारलाई समर्थन गर्दिनँ) रोज्न पाउनेछन् । यदि ‘नोटा’ ले सबैभन्दा बढी मत प्राप्त गरेमा प्रतिस्पर्धामा रहेका सबै आकांक्षीहरूको उम्मेदवारी स्वतः खारेज हुनेछ र नयाँ उम्मेदवार छनोट गरी पुनः मतदान गरिनेछ ।
प्रारम्भिक निर्वाचन वैध हुन कम्तीमा २५ प्रतिशत सदस्यले मतदान गर्नैपर्नेछ। २५% भन्दा कम मत खसेमा सो निर्वाचन अवैध हुनेछ र त्यसको अंकभार शून्य हुनेछ।
प्रारम्भिक निर्वाचन हुनुअगावै लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र समावेशिताको मूल्याङ्कन सम्पन्न गरी सो अंक केन्द्रीय सर्भरमा गोप्य रूपमा ‘डिजिटल लक’ गरिने उल्लेख गरिएको छ । सबै प्रक्रिया सकिएपछि मात्र डिजिटल लक खोलेर एकमुष्ट स्कोरकार्ड सार्वजनिक गरिनेछ ।

लिडरसिप एकेडेमी : परीक्षा उत्तीर्ण हुनैपर्ने
उम्मेदवार बन्न चाहने जोकोहीले पार्टीको ‘लिडरसिप एकेडेमी’ अन्तर्गत १० वटा विषयगत मोड्युलमा तालिम लिएर परीक्षा उत्तीर्ण गर्नुपर्नेछ । यसमा संविधान, स्थानीय सरकार सञ्चालन ऐन, बजेट निर्माण, सुशासन, सार्वजनिक खरिद, डिजिटल साक्षरता/एआई (AI) को प्रयोग, विपद् व्यवस्थापन र सञ्चार कलाजस्ता विषय राखिएको छ ।
परीक्षामा न्यूनतम मापदण्ड पार गर्न नसक्ने आकांक्षी छनोट प्रक्रियाबाट स्वतः बाहिरिनेछन् ।

