स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले शुक्रबार चुनाव प्रचारको अन्तिम दिन मतदातालाई आकर्षित गर्न कुनै कसर बाँकी राखेनन् । उनले देशलाई पछाडि फर्किनबाट रोक्न आइतबार हुने आम चुनावमा ‘भोट गर्नुहोस्, भोट गर्नुहोस् र भोट गर्नुहोस्’ भन्दै मतदातासँग अपिल गरे ।
चुनावी सर्वेक्षणहरूले स्पेनमा नयाँ सरकार बन्न सक्ने संकेत गरेका छन् । सर्वेक्षणअनुसार कन्जरभेटिभ पिपुल्स पार्टी (पीपी) सबैभन्दा ठूलो दल बन्ने अनुमान गरिएको छ । यस्तो भएमा सान्चेजको आठ वर्ष लामो वामपन्थी शासनको अन्त्य हुनेछ ।
स्पेनको यो आम चुनाव विभिन्न कारणले महत्त्वपूर्ण मानिएको छ । यसलाई युरोपमा दक्षिणपन्थी राजनीतिक शक्तिहरूको बढ्दो प्रभावको अर्को महत्त्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ । आगामी दिनमा युरोपका अन्य देशहरूमा पनि आम चुनाव हुँदै छन् ।

चुनावपछि कस्तो बन्न सक्छ राजनीतिक समीकरण ?
पिपुल्स पार्टी (पीपी) ले सबैभन्दा बढी सिट जिते पनि सरकार गठन गर्न आप्रवासनविरोधी दक्षिणपन्थी दल ‘वाक्स’ को समर्थन आवश्यक पर्न सक्छ । यद्यपि, चुनावपछि संसद् त्रिशङ्कु बन्ने सम्भावना पनि छ । यस्तो अवस्थामा दक्षिणपन्थी वा वामपन्थी कुनै पनि गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन नसक्ने स्थिति आउन सक्छ ।
चुनावी प्रचारका क्रममा सान्चेजले युरोपेली संघका अन्य सदस्य राष्ट्रहरू आर्थिक चुनौतीसँग जुधिरहेका बेला स्पेनको अर्थतन्त्रले तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको दाबी गर्दै आएका छन् । उनले न्यूनतम ज्याला वृद्धि र महँगीअनुसार पेन्सन बढाउनेलगायत आफ्ना सरकारका नीतिहरूलाई उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् ।
यद्यपि, आर्थिक वृद्धिको लाभ आम नागरिकसम्म पुग्न नसकेको भन्दै धेरै स्पेनी नागरिक असन्तुष्ट छन् । घरभाडा अत्यधिक बढेको छ भने ठूलो संख्यामा युवाहरू आर्थिक कठिनाइका कारण अभिभावकको घर छाडेर छुट्टै बस्न सकेका छैनन् ।
वामपन्थी मतदातालाई आकर्षित गर्ने प्रयासमा सान्चेज
म्याड्रिडमा आयोजित अन्तिम चुनावी र्यालीलाई सम्बोधन गर्दै सान्चेजले यो चुनाव स्पेनलाई अगाडि बढाउने कि पछाडि धकेल्ने भन्ने विषयसँग जोडिएको बताए ।
उनले वामपन्थी मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्ने प्रयास तीव्र पारे । दक्षिणपन्थी गठबन्धन सत्तामा आएमा वर्षौंको सामाजिक प्रगतिमा धक्का पुग्ने र सार्वजनिक सेवाहरू प्रभावित हुने उनले चेतावनी दिए । उक्त र्यालीमा अस्कर पुरस्कार विजेता स्पेनी चलचित्र निर्देशक पेद्रो अल्मोदवार पनि सहभागी थिए ।
सान्चेजले ‘जनताको शक्ति’ लेखिएको रातो टी–सर्ट लगाएका थिए । उनले प्रगतिशील विचारधारा भएका दलहरूले अझै पनि संसद्मा बहुमत हासिल गर्न सक्ने सम्भावना रहेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका नीतिप्रति असन्तुष्ट युरोपेलीहरूको आवाजका रूपमा पनि सान्चेजले आफूलाई प्रस्तुत गर्दै आएका छन् ।
सान्चेजको ‘डरको राजनीति’ गर्ने आरोप अस्वीकार गर्दै पीपी
अर्कोतर्फ, पिपुल्स पार्टी (पीपी) का नेता अल्बर्टो नुनेज फेइखूले सान्चेजले मतदातामा डरको वातावरण सिर्जना गर्न खोजेको आरोप लगाउँदै त्यसलाई अस्वीकार गरेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राम्रो सम्बन्ध कायम राख्न चाहेको पनि बताएका छन् । सन् २०२३ को आम चुनावमा फेइखूको पार्टीले सबैभन्दा बढी सिट जिते पनि सरकार गठन गर्न सकेको थिएन ।
दक्षिणी सहर सेभियामा आयोजित अन्तिम चुनावी र्यालीलाई सम्बोधन गर्दै फेइखूले भने, “जब कुनै सरकारसँग डर फैलाउनुबाहेक जनतालाई दिनका लागि केही बाँकी रहँदैन, तब बुझ्नुपर्छ कि उससँग अब अरू केही दिन बाँकी छैन ।”
फेइखूले आफूले जीवनभर सरकारी निकाय र स्पेनको उत्तरपश्चिमी क्षेत्र ग्यालिसियाको प्रशासनमा काम गरेर शासन सञ्चालनको अनुभव हासिल गरेको बताएका छन् । उनी आप्रवासनसम्बन्धी कडा नीति र सीमा सुरक्षामा कडाइ गर्ने पक्षमा छन् ।
त्यस्तै, वाक्स पार्टीका नेता सान्टियागो अबास्कलले अझ कडा आप्रवासन नीतिको वकालत गर्दै ठूलो संख्यामा आप्रवासीलाई देशबाट निष्कासन गर्नुपर्ने बताएका छन् । भ्यालेन्सियामा आयोजित चुनावी कार्यक्रममा उनले समर्थकहरूलाई डरका कारण नभई साहसका साथ मतदान गर्न आह्वान गरे । सान्चेज सरकारसँग जोडिएका विभिन्न भ्रष्टाचारका मुद्दा उल्लेख गर्दै उनले वर्तमान सरकारलाई आपराधिक गिरोहसँग तुलना गरेका थिए ।

