काठमाडौं, १३ जेठ । आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्यांकन अन्तर्गत मधेश प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयहरूमध्ये जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित भएको छ। उत्कृष्ट कार्यसम्पादनको आधारमा कार्यालय प्रमुख सुदीप राज पाठक लाई प्रशंसापत्रसहित सम्मान गरिएको हो।
तालुक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर का प्रमुख गोविन्द थपलिया ले एसपी पाठकलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन्। मधेश प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको मूल्यांकनअनुसार पर्सा प्रहरीले शान्ति सुरक्षा कायम राख्ने कार्य, अपराध नियन्त्रण, अनुसन्धानलाई प्रभावकारी बनाउने काम, फरार प्रतिवादी पक्राउ, ट्राफिक व्यवस्थापन तथा नागरिकमैत्री सेवा प्रवाहमा उल्लेखनीय सफलता हासिल गरेपछि उत्कृष्ट कार्यालयको रुपमा छनोट भएको जनाएको छ।
पछिल्लो समय पर्सा प्रहरीले जिल्लाभर अपराध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्दै आएको छ। खुला सीमाको चुनौती, बढ्दो शहरीकरण र औद्योगिक गतिविधिका बीच पनि प्रहरीले सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै विभिन्न आपराधिक गतिविधिमाथि प्रभावकारी निगरानी गरेको मूल्यांकनमा उल्लेख गरिएको छ। विशेषगरी फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण, चोरी तथा तस्करीजन्य गतिविधिमा नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको बताइएको छ।
यस्तै ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन सवारी चेकजाँच, ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरणका अभियानलाई तीव्र बनाइएको थियो। वीरगञ्ज महानगर क्षेत्रको व्यस्त यातायात व्यवस्थापनलाई चुस्त बनाउन ट्राफिक प्रहरीसँगको समन्वयमा विशेष योजना कार्यान्वयन गरिएको प्रहरी स्रोतले जनाएको छ।
नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै जिल्ला प्रहरी कार्यालय पर्साले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई पनि प्रभावकारी रूपमा अघि बढाएको छ। विद्यालय, टोल तथा स्थानीय समुदायसँग सहकार्य गर्दै साइबर अपराध, लागुऔषध दुव्र्यसन, महिला हिंसा र सामाजिक विकृतिविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्। प्रहरी र समुदायबीचको सम्बन्ध बलियो बनाउन गरिएको प्रयासले सकारात्मक परिणाम दिएको जनाइएको छ।
सम्मान ग्रहणपछि एसपी सुदीप राज पाठक ले पर्सावासी नागरिक, सम्पूर्ण प्रहरी कर्मचारी तथा सरोकारवालाको सहयोगकै कारण यो सफलता सम्भव भएको प्रतिक्रिया दिए। उनले उत्कृष्टता केवल पुरस्कारमा सीमित नरहने भन्दै आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र जनमुखी प्रहरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले अपराध नियन्त्रणसँगै नागरिकको विश्वास जित्नु नै प्रहरीको मुख्य दायित्व भएको उल्लेख गर्दै शान्ति सुरक्षा कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहने बताए। पर्सा प्रहरीको यो उपलब्धिले मधेश प्रदेशमा कार्यरत अन्य प्रहरी कार्यालयलाई समेत प्रभावकारी सेवा प्रवाहतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।
