काठमाडौं, २१ जेठ । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङ्को कोरोला नाकाबाट भित्रिएका ७ सय ७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।
भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गए राती सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएको हो । गाडी नियन्त्रणमा लिनको लागि सशस्त्र प्रहरी बल नेपाल नं.३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत, नं.२४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
यसैगरी नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत २ वटा गाडी नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिईएका गाडीहरु आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाईने सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

