काठमाडौं, २३ जेठ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले देशका ६६ जिल्लामा पहिलो अधिवेशन सम्पन्न गर्दैछ । पार्टी स्थापनाको चार वर्षपछि आगामी ७ देखि ९ सम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन तयारीमा जुटेको रास्वपाले दुई दिनमा ६६ जिल्लाका अधिवेशन सम्पन्न गर्न लागेको हो ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले शनिवार ३७ जिल्लामा अधिवेशन उद्घाटन भएको र आईतबार २९ ओटा जिल्लामा अधिवेशन सम्पन्न हुँदै गरेको जानकारी दिए । थुप्रै जिल्लामा शनिवारै नयाँ नेतृत्व पनि चयन भएका छन् ।
शनिवार कोशी प्रदेशका ८ जिल्लाहरू झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सुनसरी तथा मधेश प्रदेशका २ जिल्ला महोत्तरी र रौतहटमा अधिवेशन सम्पन्न भएको छ ।
त्यस्तै, बागमती प्रदेशका ९ जिल्लाहरू दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवेशन सम्पन्न भएका छन् । दोलखामा जिल्ला तदर्थ समितिका निवतर्मान अध्यक्ष दिनेश बस्नेत नै पुन ः सर्बसम्मत जिल्ला अध्यक्ष चुनिएका छन् ।
त्यस्तै, गण्डकी प्रदेशका ५ जिल्लाहरू स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी तथा लुम्बिनी प्रदेशका ८ जिल्लाहरू गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णाली प्रदेशका २ जिल्लाहरू कालिकोट र सल्यान तथा सुदुरपश्चिम प्रदेशका ३ जिल्लाहरू बैतडी, बझाङ र दार्चुलामा अधिवेशन सम्पन्न भएको छ ।
रास्वपाका अनुसार आईतबार कोशी प्रदेशका ४ जिल्लाहरू उदयपुर, सोलुखुम्बु, खोटाङ र ईलाम, मधेश प्रदेशका ४ जिल्लाहरू सिराहा, धनुषा, पर्सा र सर्लाही तथा बागमती प्रदेशका २ जिल्लाहरू चितवन र ललितपुरमा अधिवेशन सम्पन्न हुँदैछ ।
त्यस्तै, गण्डकी प्रदेशका ४ जिल्लाहरू तनहुँ, नवलपुर, गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका ३ जिल्लाहरू अर्घाखाँची, रुपन्देही र प्युठान, कर्णाली प्रदेशका ६ जिल्लाहरू सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला सुदुर पश्चिम प्रदेशका ६ जिल्लाहरू
अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन सम्पन्न हुँदैछ ।
विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन २६ जेठमा आयोजना गरिने रास्वपाले जनाएको छ । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको र बाँकी १० जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन पश्चात क्रमशः आयोजना गरिने पनि महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।
त्यस्तै, आगामी २६ जेठमा सातओटै प्रदेशको अधिवेशनको तयारी भइरहेको भइरहेको र पहिलो प्रदेश अधिवेशनको रुपमा बाग्मती प्रदेशबाट सुरु हुँदै गरेको पनि रास्वपाले जनाएको छ ।
