काठमाडौ, २३ जेठ ।
रास्वपाका अध्यक्ष रवि लामिछानेले सम्बाद, सहमति र आन्तरिक निर्वाचनका लोकतान्त्रिक विधि अपनाएर नेतृत्व चयन गर्ने तरिकाले नै पार्टी अझ वलियो र परिपक्व बन्ने बताएका छन् ।
शनिवारबाट सुरु भएको जिल्ला अधिवेशनहरु सफलताको शुभकामना सन्देश जारी गर्दै लामिछानेले त्यस्तो बताएका हुन् ।
‘पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमान्दार र जनमैत्री नेतृत्व आवश्यक छ । सम्बाद सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार हो । यही प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जान्छ ।’ उनले भनेका छन् ।
अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, पार्टीको अनन्तकालीन जीवन, विधि–पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर भएकाले त्यसले आगामी यात्रालाई स्पष्ट दिशानिर्देश गर्ने उनको भनाई छ ।
लामिछानेले तदर्थ जिम्मेवारीलाई स्थायी मानक मान्ने, पदोन्नती खोज्ने र योगदानको हिसाबकिताब खोज्ने प्रवृत्तिबाट पार्टीलाई मुक्त गर्नुपर्नेमा जोड दिएका छन् । ‘स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन । चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ,’ सन्देशमा भनिएको छ,‘पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि कहिलेकाहीँ देखिएको छ । यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो ।’
पुराना साथीहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले यात्रालाई यहाँसम्म ल्याएको भन्दै लामिछानेले पार्टीलाई समावेशी र सदृढ बनाइनुपर्ने बताएका छन् । ‘अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हा े। त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ । तर, संगठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्छ । पार्टी ठूलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ ।’ लामिछानेले भनेका छन् ।
उनले अब सबै नेता–कार्यकर्ता हामीमा रुपान्तरित हुने बेला आएको पनि बताएका छन् । ‘युगले दिएको अभिभारा पूरा गर्न, पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन हामी सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ । अब ‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आएको छ । रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन प्रक्रिया सभ्य, भव्य, सुसंस्कृत र सन्देशमूलक बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।’ उनले सन्देशमा भनेका छन् ।
