ओली कमरेडलाई नहटाएसम्म एमाले पुनर्गठित र पुनर्जागृत हुने सम्भावना देखिएन, यसका लागि कसै न कसैले त्याग गर्नैपर्ने देखियो, त्यसैले पार्टी र आन्दोलन बचाउन एक कार्यकालका लागि म सिनियर उपाध्यक्षमै बसेर पनि कांग्रेसको विश्वप्रकाश शर्मा जस्तै बन्न पनि तयार भएको छु ।’ पौडेलले अति विश्वासपात्रसँग पछिल्लो समझदारी यसरी चुहाएका छन् ।
काठमाडौं, २८ जेठ ।
नेकपा एमालेभित्र पार्टी पुनर्गठनको अन्र्तसंघर्ष भूसको आगो झैं भित्रभित्रै सल्किदैं जाँदा नयाँ–नयाँ ट्वीस्ट आउने क्रम जारी छ ।
उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच आफूलाई हटाउनेगरी गठजोड भएको सूचना प्राप्त गरेपछि आक्रोशित अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीभित्र उपाध्यक्ष रामबहादुर थापा‘बादल’ र सचिव महेश बस्नेतलाई मात्र भरोसा गर्न थालेको दुई महिना जति भइसकेको छ ।
पछिल्लो सचिवालय बैठकपछि पदाधिकारी तहका धेरै नेताहरु पौडेल–पोखरेलतिरै खुलिसकेका छन् । कतिपय पदाधिकारीले भने अध्यक्ष ओली र पौडेल–पोखरेल दुवैतिर सन्तुलन मिलाइरहेका छन् ।
उच्चस्रोतका अनुसार पौडेल र पोखरेलबीच ८ जेठमा सम्पन्न केन्द्रीय सचिवालय बैठकको दुई÷तीनसाता अघि नै गोप्य समझदारी भएको छ । उनीहरुबीच पार्टीलाई पुनर्गठनमा लैजान ओलीको राजीनामा माग्ने तर उनले स्वविचारले राजीनामा नदिए उनको सम्मानजनक बहिर्गमनका लागि केन्द्रीय कमिटीहुँदै संस्थागत प्रक्रियाबाटै अघि बढ्ने समझदारी छ ।
त्यसक्रममा एक कार्यकालका लागि उपाध्यक्ष पौडेल महासचिव पोखरेललाई शीरमा राखेर विलय हुने समझदारी गरेका छन् । एक कार्यकाल पोखरेलले नेतृत्व गरेपछि पौडेलले नेतृत्व लिनेगरी उनीहरुबीच भद्र समझदारी जुटिसकेको एक उपाध्यक्षले बताए । पोखरेल र पौडेलले आफू निकट केही नेताहरुलाई पछिल्लो समझदारीबारे जानकारी पनि गराइसकेका छन् ।
‘ओली कमरेडलाई नहटाएसम्म एमाले पुनर्गठित र पुनर्जागृत हुने सम्भावना देखिएन, यसका लागि कसै न कसैले त्याग गर्नैपर्ने देखियो, त्यसैले पार्टी र आन्दोलन बचाउन एक कार्यकालका लागि म सिनियर उपाध्यक्षमै बसेर पनि कांग्रेसको विश्वप्रकाश शर्मा जस्तै बन्न पनि तयार भएको छु ।’ पौडेलले अति विश्वासपात्रसँग पछिल्लो समझदारी यसरी चुहाएका छन् ।
पौडेल–पोखरेलबीचको गठजोडसँगै पछिल्लो सचिवालय बैठकमा ओली स्पष्ट रुपमा अल्पमतमा परेका थिए । जसले गर्दा पार्टी पुनर्गठनको विकल्पसम्बन्धि प्रस्ताव तयार गर्नका लागि ओली कार्यदल बनाउन तयार भएका थिए । तर, ओली कार्यदलले प्रस्ताव आफू अनुकूल नै तयार पार्ने र केन्द्रीय कमिटीमा स्पष्ट बहुमत देखाएर नेतृत्वमा अडिइरहने दाउमा छन् ।
त्यसक्रममा उनले अहिले दाउपेचका कार्डहरु प्रयोग गर्न खोजिरहेकोसमेत ती उपाध्यक्षले बताए । अहिले प्रदेश सरकारहरुमासमेत सुनियोजित रुपमै मन्त्रीहरु हेरफेर गरिनुले पनि ती उपाध्यक्षको दावी पुष्टि भएको छ । यसैक्रममा केही दिनअघि लुम्बिनी प्रदेशमा मन्त्रीहरु हेरफेर भएको छ । तर, सुदुरपश्चिम प्रदेशमा महासचिव शंकर पोखरेलको गम्भीर असहमतिले रोकिएको छ ।
उता, आफूसँग चिढिएका सचिव हिक्मत कार्कीलाई जसरी पनि मुख्यमन्त्रीबाट हटाउने पक्षमा ओली उभिएका छन् । त्यसका लागि कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई छिटो मुख्यमन्त्रीको उम्मेद्वार तयार पार्न ओलीले भनिसकेको कांग्रेस कार्यालयतिर दिनहुँ व्यापक चर्चा हुने गरेको छ ।
