काठमाडौं, २९ जेठ ।
काङ्ग्रेसले ५ लाख ३८ हजारलाई पार्टी सदस्यता दिएको छ ।
पन्ध्रौं महाधिवेशन तयारीका सन्दर्भमा सदस्यता अधावधिक अभियानमा सो सङ्ख्यालाई काङ्ग्रेसले सदस्यता दिएको हो ।
बाकी डेढ लाख सदस्यता आवेदन स्वीकृतिको क्रममा रहेको काङ्रेसले जनाएको छ । सदस्यता अद्यावधिकको समयसीमा एक दिन बढाइएकोमा विहिबार राती १२ बजेबाट सकिएको छ ।
यस्तो छ-काङ्ग्रेसको प्रेस नोट :
नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सञ्चालन भएको क्रियाशील सदस्यता अद्यावधिक कार्यमा देशभर उत्साहजनक रुपमा अधिकांश क्रियाशील सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको छ ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यहरूमध्ये आज राति १२:०० बजेसम्ममा वडा सभापति मार्फत ५ लाख ३८ हजार ६ सय २२ जनाले NCID प्राप्त गरिसक्नु भएको छ ।
१ लाख ४९ हजार ३ सय ९ जनाले स्वयं अद्यावधिक फारम पेश गरी वडा सभापति मार्फत अद्यावधिक कार्यको प्रक्रियामा रहेको छ ।
इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा नेपाली कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिनेछ।
नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्मका लागि खुल्ला रहनेछ।
यस महत्वपूर्ण अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहभागी हुनुहुने सबैप्रति नेपाली कांग्रेस हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
जय नेपाल !
कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव