काठमाडौं, २९ जेठ ।
गैर–आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको एक उच्चस्तरीय प्रतिनिधिमण्डलले माल्टाको सरकारी अधिकारीसँग भेटर्वार्ता गरेको छ ।
गत १० जुनमा मा भएको भेटर्वातामा माल्टामा रहेका नेपालीहरुको विविध समस्याका बारेमा त्यहाँस्थित गृह मन्त्रालयका प्रवासनसम्बन्धि उच्चअधिकारी माल्कम कुटायरसँग गम्भीर छलफलसहित ध्यानाकर्षण गराइएको एनआरएनए माल्टाले जनाएको छ । भेटर्वार्तामा प्रवासन अधिकारी कुटायरले नेपाली श्रमिकहरुले भोगिरहेका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।
अध्यक्ष रोशन गिरीको नेतृत्वमा उपाध्यक्ष अमर बहादुर रावत र महासचिव विरोजंग पाण्डे सम्मिलित उच्चस्तरीय टोलीले माल्टामा रहेका नेपाली श्रमिकहरूले भोग्नुपरेका प्रमुख समस्याहरू र त्यसका व्यावहारिक प्रशासनिक समाधानका उपायहरू समेटिएको एउटा विस्तृत ज्ञापनपत्र मन्त्रालय समक्ष औपचारिक रूपमा प्रस्तुत गरेको थियो । अध्यक्ष गिरीले भेटर्वार्ता अत्यन्तै फलदायी र सकारात्मक भएको बताए ।
भेटर्वातामा सिंगल पर्मिट आवेदन (नयाँ, कम्पनी परिवर्तन र नवीकरण) मा हुने ढिलाइ र माल्टामा नेपाली दूतावास नहुँदा ८ महिनाको पासपोर्ट भ्यालिडिटी’ नियमले पारेको अप्ठ्यारोबारे ध्यानाकर्षण गराइएकोमा प्रवासन अधिकारी कुटायारले यस वर्षको अन्त्यसम्ममा सिंगल पर्मिटको समस्या हल गर्न नयाँ प्रक्रिया सुरु हुने जानकारी दिँदै प्रभावित आवेदकहरूलाई आवश्यक सहजीकरण गरिदिने आश्वासन दिएका थिए ।
त्यस्तै, माल्टा आएको १ वर्र्ष नपुगेका कामदार दुर्घटनामा पर्दा मातेर देई हस्पिटलमा रकम तिर्नुपर्ने बाध्यता हटाउन र इन्स्योरेन्स कम्पनीसँग सिधा भुक्तानीको व्यवस्था गर्न माग गरिएकोमा त्यसप्रति पूर्ण संवेदनशीलता देखाउँदै आवश्यक पहल गर्ने आश्वासन प्राप्त भएको पनि गिरीले जनाएका छन् ।
त्यस्तै,सिंगल पर्मिट रिजेक्सन भई अपीलको निर्णय पर्खेर बस्दा काम गर्न नपाइने कानुनी प्रावधानले नेपालीहरू मर्कामा परेको विषयका सन्दर्भमा अपील अवधिमै यदि कुनै नयाँ कम्पनीले हायर गर्न तयार छ भने सोही अवधिमा नयाँ कम्पनी खोजेर पुनः नयाँ पर्मिट एप्लाई गर्न पाउने कानुनी समाधान खोज्न सकिने आश्वासन पनि अधिकारी कुटायरले दिएका छन् ।
मानसिक तनाव, कुलतमा फसेका, घरबारविहीन वा कानुनी हैसियत गुमाएर नेपाल फर्किनै पर्ने बाध्यतामा पुगेका नेपालीहरूलाई एनआरएनएमार्फत विवरण मन्त्रालयमा बुझाएमा उचित प्रक्रिया पुरा गरी नेपाल फर्काउने व्यवस्था गरिने र यस्ता वास्तविक पीडितहरूको नेपाल फर्किने हवाई टिकटको खर्च समेत माल्टा सरकारले बेहोर्न सक्ने आश्वासन प्राप्त भएको महासचिव विरोजंग पाण्डेले बताए । ्
भेटर्वार्तामा प्रवासन अधिकारी कुटायारले माल्टाको अर्थतन्त्रमा नेपाली समुदायले पुर्याएको योगदानको उच्च कदर गर्दै नेपाली नागरिकहरूलाई परिश्रमी ,नम्र, र माल्टाको कानुनको पूर्ण पालना गर्ने भनी हृदयदेखि नै प्रशंसा गरेका थिए ।
