काठमाडौं, २९ जेठ ।
नेकपा (एमाले)ले चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव संकलन अभियान सुरु गरेको छ । वागमती प्रदेश कमिटीको बैठक आयोजना गरेर एमालेले आजैबाट सुझाव संकलन अभियान सुरु गरेको हो ।
अभियानकै सिलसिलामा अहिले स्टार बैंक्वेट पेप्सीकोलामा वागमती प्रदेश कमिटीको बैठक चलिरहेको छ । बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भनिए पनि स्वास्थ्य अबस्थाका कारण सहभागी भएनन् । बैठकलाई उपाध्यक्ष रामबहादुर थापा‘बादल’ र सचिव महेश बस्नेतले सम्बोधन गरेका छन् । पार्टी पुनर्गठनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर बाटो खुलाउनुपर्ने भन्दै सचिवालयको बैठकमा बहुसंख्यक पदाधिकारी उभिएपछि सुझाव दिन उपाध्यक्ष थापाको नेतृत्वमा कार्यदल बनेको थियो ।
कार्यदलले १९ असारसम्म सातओटै प्रदेशमा सुझाव संकलन गर्ने तयारी गरेको छ । कार्यदलको पछिल्ले बैठकले प्रदेश, सम्पर्क समन्वय कमिटी, जनसंगठन तथा विभिन्न निकायका पदाधिकारीहरूबाट सुझाव सङ्कलन गर्न विस्तृत कार्यतालिका सार्वजनिक गरेको हो। बैठकले पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन गर्दै संगठनात्मक संरचनालाई समयानुकूल बनाउने लक्ष्य लिएको जनाएको छ ।
निर्णयअनुसार जेठ ३० गते वाग्मती प्रदेशबाट सुझाव सङ्कलन कार्यक्रम सुरु हुनेछ । त्यसपछि असार २ गते कोसी प्रदेश, असार ४ गते लुम्बिनी प्रदेश, असार ६ गते सुदूरपश्चिम प्रदेश, असार ८ गते कर्णाली प्रदेश, असार ११ गते गण्डकी प्रदेश र असार १३ गते मधेस प्रदेशमा भेला आयोजना गरिनेछ ।
यस्तै, असार १६ गते राजधानी विशेष भेला, असार १७ गते सम्पर्क समन्वय कमिटीसँग अन्तरक्रिया, असार १८ गते जनसंगठनका प्रतिनिधिसँग छलफल तथा असार १९ गते विभाग प्रमुख र विभिन्न निकायका पदाधिकारीहरूसँग सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ ।
कार्यदलले प्रदेशस्तरीय भेलामा सम्बन्धित भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला पदाधिकारीहरूको अनिवार्य सहभागिता रहने जनाएको छ। साथै, सम्पूर्ण कार्यक्रमको संयोजन सम्बन्धित प्रदेशका प्रदेश इन्चार्जहरूले गर्ने निर्णय पनि गरिएको छ ।
बैठकले कार्यदलको सदस्य सचिवको जिम्मेवारी पार्टीका महासचिवलाई प्रदान गर्ने निर्णय गरेको छ। आयोजना हुने सबै भेलाहरूमा कार्यदलका संयोजक रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेल तथा सदस्यहरूको उपस्थिति रहने जनाइएको छ
