काठमाडौं, ७ असार ।
रास्वपाको पहिलो राष्टिय महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे भरतपुरस्थित गेस्टहाउस चौरमा हुने भएको छ ।
महाधवेशनमा भाग लिन सबैजसो प्रतिनिधि चितवन पुगिसकेका छन् भने हजारौं समर्थक, शुभेच्छुक पनि उद्घाटनस्थल पुग्दैछन् ।
सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्ने कार्यतालिका बनेको छ ।
उद्घाटन समारोहमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिएको छ ।
कांग्रेसबाट पुष्पा भुसाल, एमालेबाट प्रदीप ज्ञवाली, नेकपाबाट वर्षमान पुन र राप्रपाबाट राजेन्द्र लिङ्देनले शुभकामना दिनेछन् । श्रम संस्कृृति र जसपा नेपालबाट अतिथिका रूपमा सहभागी हुने नेताको नाम टुंगिएको छैन ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनको दोस्रो दिन भोलि सोमबार बन्दसत्र चल्नेछ । रास्वपाले यसलाई ‘प्रतिवेदन सत्र’का रूपमा परिभाषित गरेको छ, जहाँ विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, नीति–विचार विभागको प्रतिवेदन तथा सभापतिको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिने कार्यतालिका छ ।
प्रतिवेदनमाथि छलफल सकिएपछि वर्तमान केन्द्रीय समिति स्वतः विघटन भई निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु गर्ने रास्वपाले जनाएको छ ।
महामन्त्री बुर्लाकोटीका अनुसार महाधिवेशनको दोस्रो दिन बन्दसत्रमा विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, नीति–विचार विभागको प्रतिवेदन तथा सभापतिको राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ ।
प्रतिवेदनमाथि छलफल सकिएपछि अहिलेको केन्द्रीय समिति स्वतः विघटन भई कार्यव्यवस्था समितिजस्तै भूमिकामा सीमित हुनेछ । त्यसपछि बाँकी निर्वाचन प्रक्रिया सञ्चालनका लागि जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गरिनेछ, । नेतृत्व चयन मंगलवार गर्ने रास्वपा महाधिवेशनको कार्यतालिका छ ।
