काठमाडौँ, ७ असार।
राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका छन्। बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उनले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका हुन्। योग शरीर, मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास भएको, यसमा ध्यान, प्राणायाम र शारीरिक आसनहरूको संयोजन रहने तथा यसलाई वैज्ञानिक मानवीय जीवनशैली तथा जीवनपद्धतिका रूपमा लिनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याई तनाव कम गर्न तथा सकारात्मक ऊर्जा प्राप्त गर्न सहयोग गर्ने धारणा व्यक्त गरे।
सन्देशमा योगसम्बन्धी अध्ययन, अनुसन्धान तथा ऐतिहासिक एवं पुरातात्विक तथ्यले हाम्रो मुलुक योगभूमिका रूपमा रहेको पुष्टि गर्दै आएको उल्लेख गरिएको छ । राष्ट्रपति पौडेलले योगलाई राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम तथा जनस्वास्थ्यको क्षेत्रमा अभिन्न अङ्गका रूपमा स्थापित गर्दै यसको विकासका लागि थप कार्य गर्न आवश्यक भएको बताए ।
