काठमाडौ, १८ कात्तिक । नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्चको नयाँ नेतृत्व चयनका लागि तीन जनाले अध्यक्ष पदमा आकांक्षा देखाएका छन्। वर्तमान अध्यक्ष रमेश पाण्डे, सचिव चाणक पोखरेल र उपसचिव प्रभुराम थापा अध्यक्षका दाबेदारका रूपमा देखिएका हुन्।
अध्यक्षका तीन आकांक्षी देखिएसँगै नयाँ नेतृत्व चयनलाई लिएर मञ्चभित्र आन्तरिक छलफल र शक्ति सन्तुलनको प्रयास तीव्र बनेको छ। यद्यपि, आकांक्षीमध्येबाटै पदाधिकारीसहितको नयाँ टिम सर्वसम्मत बनाउने उद्देश्यले एमाले नेताहरूले आन्तरिक गृहकार्य अघि बढाएका छन्।
प्रवासी नेपाली मञ्चको नेतृत्व चयन प्रक्रियामा समन्वय गरिरहेका एमाले नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्या भण्डारी, महासचिव शंकर पोखरेल, सचिव भानुभक्त ढकाल तथा डा. राजन भट्टराईलगायतसँग परामर्श र सम्पर्क गरिरहेका छन्। नेतृत्व चयनमा पार्टी नेतृत्वको सहमति जुटाएर विवादरहित ढंगले अधिवेशन सम्पन्न गर्ने उनीहरूको प्रयास छ।

मञ्चका पूर्वअध्यक्ष भक्त गुरुङले संगठन विस्तारसँगै यसले समेट्नुपर्ने भौगोलिक क्षेत्र, समुदाय र मुद्दाहरू पनि बढ्दै गएको भन्दै सबै पक्षको भावना प्रतिनिधित्व गर्ने नेतृत्व आवश्यक रहेको बताए। उनका अनुसार पहिलो प्राथमिकता सर्वसम्मत नेतृत्व चयन नै भएकाले त्यसका लागि छलफल भइरहेको छ।
दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको उद्घाटन एमाले वरिष्ठ नेता विद्या भण्डारीले थापाथलीस्थित कार्की बैंक्वेटमा गरेकी थिइन्। उद्घाटन सत्रलाई एमाले महासचिव शंकर पोखरेलसहित करिब एक दर्जन नेताले सम्बोधन गरेका थिए।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै प्रवासमा रहेका नेपालीलाई संगठित गर्ने मञ्चको आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशासमेत तय गर्ने अपेक्षा गरिएको छ।

