काठमाडौं, ८ असार ।
जननेता मदन भण्डारी को ७५ औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने उद्देश्यसहित नेकपा (एमाले) निकट २४ वटा जनसंगठनहरूको आज काठमाडौंमा भेला सम्पन्न भएको छ । भेलाले असार १४ गते देशभर विविध कार्यक्रमका साथ जन्मजयन्तीलाई व्यापक रूपमा मनाउने निर्णय गरेको छ ।
जनसंगठन समन्वय संयन्त्रका संयोजक विशाल भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त भेलामा नेताहरूले यस वर्षको जन्मजयन्तीलाई रचनात्मक, वैचारिक तथा संगठनात्मक अभियानका रूपमा अघि बढाउने विषयमा छलफल भएको थियो । सहभागी प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउन सबै जनसंगठनहरूलाई सक्रिय रूपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पूर्वराष्ट्रपति विद्या भण्डारी को समेत उपस्थिति रहेको उक्त भेलामा बोल्दै एमाले सचिव भानुभक्त ढकालले मदन भण्डारीको जन्मजयन्तीलाई केवल औपचारिकतामा सीमित नराखी रचनात्मक कार्यक्रममार्फत देशभर मनाउन अपील गरे । उनका अनुसार जननेता भण्डारीले जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर विकसित गरेको राजनीतिक कार्यशैलीलाई व्यवहारमा उतार्नु आजको आवश्यकता हो । साथै, पार्टीका २४ वटा जनसंगठनहरूले देशभर कार्यक्रम सञ्चालन गरी मदन भण्डारीका विचारलाई जनस्तरसम्म पु¥याउन उहाँले आह्वान पनि गरे ।
भेलामा मदन भण्डारी फाउन्डेसनका सचिव भेषराज अधिकारीले यस वर्ष जन्मजयन्तीलाई विशेष राजनीतिक तथा वैचारिक कार्यक्रमका रूपमा मनाउने तयारी गरिएको जानकारी दिए । उनका अनुसार असार १४ गते काठमाडौंमा हुने मुख्य समारोहमा जननेताको योगदानबारे विशेष विमर्श गरिनेछ ।
काठमाडौंस्थित राष्ट्रिय सभा गृह मा आयोजना हुने मुख्य समारोहमा नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारीको राजनीतिक योगदानबारे विस्तृत छलफल हुने कार्यक्रम तय गरिएको छ । उक्त कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड, साथै पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
काठमाडौंमा फाउन्डेसनले असार १४ गते आयोजना गर्ने मुख्य कार्यक्रमलाई सबै जनसंगठनहरूले सहयोग गर्ने निर्णय पनि भेलाले गरेको छ।
