काठमाडौं, ८ असार
रास्वपा महाधिवेशनको बन्द सत्र आजका लागि स्थगित भएको छ ।
महाधिवेशनमा १९ जना पदाधिकारीका लागि धेरै आकांक्षी देखिएको र प्रतिनिधि छनोटमासमेत विवाद देखा परेपछि विहानैदेखि सुरु हुने भनिएको बन्दशत्र सुरु हुन सकेको थिएन ।
आईतबार राती महाधिवेशन प्रतिनिधिसम्बन्धि विषयमै किचलो भएपछि महाधिवेशनस्थलमै केही कार्यकर्ताबीच हात हालाहाल र किचलो भएको तस्वीर र भिडियोहरु बाहिरिएका थिए ।
महाधिवेशन प्रतिनिधिमा थपघट र मधेश प्रदेशमा देखिएको विवादका कारण बन्द सत्र सुरु हुन नसकेको एक पदाधिकारीले बताए ।
रास्वपाका स्रोतका अनुसार, आजका लागि बन्द सत्रका कार्यक्रम स्थगित गरेर विवादका विषयहरू टुंगो लगाउनेगरी तयारी गरिएको हो ।
बन्द सत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू पुगेका थिए । उनीहरू दिनभर कुरेर बसे पनि अन्तिम समयमा बन्द सत्र स्थगित भएको हो ।
रास्वपाको निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाले बन्दसत्र स्थगनको औपचारिक जानकारी गराइने बताए ।
भोलिबाट बन्दसत्र सुरु हुनेछ । यसले गर्दा महाधिवेशन स्वतः एक दिन लम्बिएको छ । महाधिवेशन प्रतिनिधि संख्या ३८ सय नाघेको स्रोतले बताएको छ ।
