काठमाडौं, ८ असार ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै आधार र प्रमाणबिनै सरकारले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेर कानुनी शासनको धज्जी उडाएको टिप्पणी गरेका छन् ।
साथै, उनले पौडेलको गिरफ्तारीलाई नांगो प्रतिशोधको संज्ञा पनि दिएका छन् । पौडेललाई सरकारले सुर्खेतमा संचालित एमाले कार्यक्रमबाटै गिरफ्तार गरेको हो । आईतबार मात्रै चितवनको रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहले अहिलेको सरकार हाईवेमा एक्सप्रेस कुद्ने बताएर एमाले नेता प्रदिप ज्ञवालीले एक्सलेटर र गेयरलाई सन्तुलनमा राखेर काम गर्दा मात्र सरकार सफल हुने र दुर्घटनामा नपर्ने भनि दिएको सुझावको जवाफ फर्काएका थिए । त्यसकै भोलिपल्ट प्रधानमन्त्री मातहत रहेको सम्पत्ति शुद्धिकरण विभागको छानबिनमा दोषी भेटिएको भन्दै पौडेललाई गिरफ्तार गरेको बताइएको छ ।
‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हो ।’ वक्तव्यमा भनिएको छ ।
यस्तो छ, ओलीको वक्तव्य–
८ असार २०८३
नेकपा (एमाले) का उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ, त्यसप्रति हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दछ । नेकपा (एमाले) सदैव कानुनी राज्य‚ सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यान्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।
उपाध्यक्ष पौडेल आजै सुर्खेतको कार्यक्रम सकेर भोलि नै काठमाडौँ फर्कने पूर्वनिर्धारित कार्यतालिका थियो । विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको छ । सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो ’स्टन्ट’ र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ। सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ ।
वर्तमान सरकार अलोकतान्त्रिक‚ सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख छ । हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ—विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस् ।
सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी कृयाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न हामी सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन हार्दिक आह्वान गर्दछु ।
केपी शर्मा ओली
अध्यक्ष
