काठमाडौं, १४असार ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले नेपाली कम्युनिष्ट आन्दोलनले समयअनुकूल आत्मसमीक्षा, रचनात्मक पुनरावलोकन र सिर्जनशील राजनीतिक अभ्यासमार्फत जनविश्वासलाई थप सुदृढ बनाउनुपर्ने बताएकी छन्।
जननेता मदन भण्डारी को ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशन ले आयोजना गरेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचारगोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ हस्तान्तरण समारोहलाई आइतबार काठमाडौंको राष्ट्रिय सभागृह मा सम्बोधन गर्दै भण्डारीले यस्तो धारणा व्यक्त गरेकी हुन्।
उनले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) नेपाली कम्युनिष्ट आन्दोलनको मौलिक वैचारिक योगदान भएको उल्लेख गर्दै त्यसले कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक मूल्यमान्यतासँग जोड्न महत्वपूर्ण भूमिका खेलेको बताइन्। बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र आवधिक निर्वाचनलाई स्वीकार गर्दै समाजवादी परिवर्तनको मार्ग खोज्न सकिने मान्यतालाई जबजले स्थापित गरेको उनको भनाइ थियो।
भण्डारीले हालको राजनीतिक परिवेशमा कम्युनिष्ट आन्दोलन नयाँ अवसर र चुनौतीको मोडमा रहेको उल्लेख गर्दै जनताबाट प्राप्त सन्देशलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्नेमा जोड दिइन्। उनले कुनै एउटा निर्वाचनको परिणामका आधारमा आन्दोलनको भविष्य वा जबजको सान्दर्भिकताबारे निष्कर्ष निकाल्न नहुने पनि बताइन्।
उनले बदलिँदो पुस्ता, प्रविधिको विकास, युवाका आकांक्षा, रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन र उत्पादनमुखी अर्थतन्त्रजस्ता विषयमा समयानुकूल नीति, कार्यशैली र संगठनात्मक अभ्यास विकास गर्नुपर्ने आवश्यकता औँल्याइन्। मदन भण्डारीको भनाइ उद्धृत गर्दै उनले “रचनात्मकताको अभाव नै कम्युनिष्ट आन्दोलनको मूल समस्या हो” भन्ने निष्कर्ष आज पनि उत्तिकै सान्दर्भिक रहेको बताइन्।
सम्बोधनका क्रममा भण्डारीले नेपालको संविधान–२०७२ लोकतान्त्रिक आन्दोलन र जनताको त्यागबाट प्राप्त साझा उपलब्धि भएको उल्लेख गर्दै संविधान संशोधन सम्भव भए पनि यसको मूलभूत मूल्य, मान्यता र राष्ट्रिय सहमतिलाई हल्का रूपमा लिन नहुने धारणा राखिन्। उनले प्रत्यक्ष कार्यकारी शासन प्रणाली नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजका लागि उपयुक्त नहुने आफ्नो दृढ विश्वास पनि व्यक्त गरिन्।
भण्डारीले जननेता मदन भण्डारीको विचारको अध्ययन, सिर्जनात्मक विकास र प्रभावकारी कार्यान्वयनका लागि सबैलाई प्रतिबद्ध हुन आह्वान गर्दै लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, सुशासन, उत्पादनमुखी अर्थतन्त्र र जनसहभागितामा आधारित नेपाली विशेषताको समाजवाद नै राष्ट्रिय गन्तव्य भएको उल्लेख गरिन्।
सोही अवसरमा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ रमेश रुछेन राई को कृति श्वेतशार्दूल (मदन भण्डारीको जीवन) लाई प्रदान गरिएको थियो।
